धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज (बुधबार) उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका छन् । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पनि पठाइसकेको छ ।
शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए । असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन १८ गते विश्वासको मत लिन लागेका हुन् ।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आफ्ना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो ।