सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा सामान्य वृद्धि भएको जनाइको छ । आर्थिक वर्ष २०७९/८० मा कुल ग्राहस्थ उत्पादन ३ खर्ब ८१ अर्ब ४४ करोड रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा (उपभोक्ता मूल्यमा) कुल ग्राहस्थ उत्पादन बढेर ४ खर्ब ४ अर्ब २८ करोड पुगेको बताएको छ । जुन अनुमानित राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ७ दशमलव १ प्रतिशत हो ।

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३ दशमलब ४१ प्रतिशत पुगेको प्रदेश सरकारको तथ्याङ्क छ । सो अवधिसम्म सुदूरपश्चिमको कुल ग्राहस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३३ दशमलव २, द्धितीय क्षेत्रको योगदान १२ दशमलव ४५ र सेवा क्षेत्रको योगदान ५४ दशमलव ३१ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो योगदान क्रमशः ३२ दशमलव ६०, १३ दशमलव १८ र ५४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ४२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव शून्य ९ प्रतिशत धनात्मक तथा द्धितीय क्षेत्रको वृद्धिदर शून्य दशमलव ५० प्रतिशत ऋणात्मक देखिएको छ ।

सो अवधिमा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएर १ हजार १ सय ११ अमेरिकी डलर पुगेको छ । यहाँ बैङ्क तथा वित्तीय संस्थाका शाखाहरूको सङ्ख्या ८ सय ५६ पुगेको छ । बिमा कम्पनीहरूको शाखा सङ्ख्या २ सय ७१ पुगेको छ ।

यहाँ सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरेका छन भने १ खर्ब ५२ अर्ब ऋण लगानी गरेको पाइएको छ । यहाँ सबैभन्दा बढी गरिबी छ । गरिबीको दर सुदूरपश्चिममा ३४ दशमलव १६ प्रतिशत रहेको छ ।
