कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले बिहीबार छड्के अनुगमन गरेका छन् । बिहान करिब ११ बजे नगरपालिकाको वडा नम्बर-४ मा रहेको रामशिखरझाला स्वास्थ्य चौकी पुगेको मेयर नेतृत्वको टोलीले अधिकांश कर्मचारीलाई कार्यालयमा नभेटेको बताएको छ ।
मेयर रावतका अनुसार ९ जना कर्मचारी कार्यरत स्वास्थ्य चौकीमा बिहीबार ४ जना कर्मचारी उपस्थित थिएनन् । ती मध्ये १ जनाले मात्रै बिदा स्वीकृति लिएका छन् । कार्यालय प्रमुख लक्ष्मण साउँद सहित ३ जना बिना जानकारी कार्यालयमा अनुपस्थित थिए ।
´´यस कार्यालयबाट सहज सेवा प्रवाह भएन भन्ने जनताको व्यापक गुनासो छ । समयमा कर्मचारी नभेटिने समस्या छ भन्ने गुनासो पछि हामीले अनुगमन गरेका हौ । अनुगमनका क्रममा पनि सोही बमोजिम पाइयो । व्यक्तिगत रूपमा यस अघि देखि भन्दै आएको थिए । यस पटक हामीले अन्तिम पटकका लागि लिखित चेतावनी दिएका छौ । अवस्था सुधार भएन भने कारबाही प्रक्रियामा जान्छौ ।“ मेयर रावतले भने ।
यस्तै उनको टोलीले सोही वडामा निर्माणाधीन अस्थायी प्रहरी पोस्टको समेत निरीक्षण गरेका छ । अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, वडा नम्बर-१ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता घनश्याम ओझा, वडा नम्बर-४ का अध्यक्ष भरतबहादुर शाही समेत सहभागी थिए ।
प्रकाशित :- २०८० कार्तिक १७, गते शुक्रबार