समाचार सारांश
- • ९ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पहिलो भवनको तला ढलान सोमबार नगर प्रमुख खडक बहादुर रावतको नेतृत्वमा पूजा–पाठसहित सुरु गरिएको हो ।
- • कुल १८ करोड लगानीमा १५ शय्याको नगर अस्पतालका दुई वटा भवन बन्ने योजना रहेको छ । भवनको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ ।
- • २०७७ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि रकम अभावका कारण काम अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीका अनुसार अब कुनै अवरोध नआए आउँदो २०८३ सालको दसैँसम्म दुवै भवन पूरा गरी नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
घोडाघोडी नगरपालिका–२ साडेपानीमा निर्माणाधीन नगर अस्पताल भवनको छत ढलान सुरु भएको छ । ९ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पहिलो भवनको तला ढलान सोमबार नगर प्रमुख खडक बहादुर रावतको नेतृत्वमा पूजा–पाठसहित सुरु गरिएको हो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख ९उप–सचिव० खगेन्द्र बहादुर सिंह, वडाका जनप्रतिनिधि र स्थानीय वासीहरूको सहभागिता रहेको थियो ।
छत ढलान शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले भवन निर्माण सम्पन्न भएपछि स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्माण कार्यमा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिवद्धता जनाउँदै, छिटोभन्दा छिटो काम सक्ने गरी ठेकेदारलाई निरन्तर निर्देशन गरिने तथा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गरिने बताए ।
कुल १८ करोड लगानीमा १५ शय्याको नगर अस्पतालका दुई वटा भवन बन्ने योजना रहेको छ । भवनको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि रकम अभावका कारण काम अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीका अनुसार अब कुनै अवरोध नआए आउँदो २०८३ सालको दसैँसम्म दुवै भवन पूरा गरी नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
२०७७ साल मङ्सिर १५ गते तत्कालीन प्रतिनिधिसभा सदस्य गौरीशङ्कर चौधरी, सुदूरपश्चिम प्रदेशका सांसद अमर साउँद, तत्कालीन नगर प्रमुख ममता प्रसाद चौधरी र उपप्रमुख प्रेम कुमारी थापाले संयुक्त रूपमा इँटा राखेर शिलान्यास गरेका थिए । ७५३ वटै पालिकामा अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार घोडाघोडी नगर अस्पतालको निर्माण सुरु गरिएको हो ।
अहिले साबिकको साडेपानी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । विशेषज्ञ चिकित्सकसहितको नियमित स्वास्थ्य सेवा उपलब्ध भइरहेको र भवन सम्पन्न भएपछि सेवा प्रवाह अझ सहज र व्यवस्थित हुने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।






