
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा पुनः नापी तथा हालसाबिकमा जनताबाट अवैध रकम सङ्कलन गरेको पाइएको छ । नापी कार्यालय कैलालीका अनुसार हालसाबिक गरी नयाँ लालपुर्जा लिँदा स्थानीयले २५ रुपैयाँ सुल्क तिर्नु पर्छ । तर साडेपानीमा कार्यालय सञ्चालन गरी काम गरिरहेको ३ नम्बर नापी टोलीले बिचौलिया खडा गरी प्रतिकित्ता ३ देखी ५ हजारका दरले रकम सङ्कलन गरेको आरोप लागेको छ ।

“अमिनहरूको खर्च भन्दै प्रतिकित्ता ३ हजार र लालपुर्जाको २५ रुपैयाँ गरी प्रत्येकले ३ हजार २५ रुपैयाँ तिरेका छन् । कसै कसैले त त्यो भन्दा बढी पनि तिरेका छन् । नाप जाँच गर्दा जग्गा थोरै पनि बढी देखियो भने २ लाख देखी माथि छुट्टै रकम माग्ने गरेका छन् । यसमा निर्वाचित जनप्रतिनिधि देखी नापीको सहजीकरण समितिका मान्छेहरू समेत संलग्न छन् ।” श्रोतले भन्यो ।
हाम्रो श्रोतको दाबीलाई केही स्थानीयहरूका भनाइले समेत पुष्टि गरेको छ । “म त कोहलपुरबाट आएको हुँ । भाउजूहरूले ३ हजार तिर्नु भएछ । मलाई पनि ३ कित्ताको ९ हजार चाहिन्छ भनेका छन् । नाप जाँच गर्दा मेरो जग्गा ५ धुर बढी देखियो । त्यसको छुट्टै ढाईलाख लाग्छ, यो सरकारी रेट हो भन्दै थिए अरे ।” स्थानीय तिलक विष्टले भने । यस्तै स्थानीय कलधरि विष्टले आफ्नो ४ कित्ता जग्गा नाप जाँच गरेको १२ हजार तिरेकी छन् । धना देवी विष्टले २ कित्ताको ५ हजार, कौसी देवी विष्टले २ कित्ताको ८ हजार, शान्ति विष्टले १ कित्ताको ३ हजार र पदम सिंह विष्टले १ कित्ताको ५ हजार तिरेको दाबी गरेका छन् ।
“अब क्या भनी लिन्या हुन । यती चाहिन्छ, सबैलाई लाग्याको रेट हो भन्या । पैसा नदिया लालपुर्जा बन्दैन भन्ना, मैले दियाको पैसा ३ हजार भण्डारीले लिया, ३ हजार अमिनले लिया, ६ हजार ! ६ हजार अस्ती दियाकी हुँ । हामीले त होला सोच्याउ, पैसा दियाको केही पर्माण पन दियानन् ।” स्थानीय कलधरि विष्टले भनिन् । आफ्नो ३ कित्ता जग्गा नाप जाँच भए पनि लालपुर्जा भने घर बास रहेको २ कित्ताको मात्रै आएकाले हाललाई ५ हजार दिएको र थप रकम खेतको लालपुर्जा पाएपछि दिने सहमति भएको स्थानीय धना देवी विष्टले बताइन । “दिनभरी एक बिघा जति नाप्या हजुर, त्यैमा मेरो पन छियो । बासा बेरी मेरा ज्वाइँ छन् घर्ती भन्ने, उनुले ल्याऊ सौराज्यू एक कित्ताको ३ हजार भन्ना छन् भनिखेर लग्याका हुन ।” स्थानीय पदम सिंह विष्टले भने ।
“मेरो टोलनिर म जयन्ती देवी भण्डारी, पदम मल्ल, गोपाल भूल, मान बहादुर शाही र काली बहादुर शाही गरी ५ जनाले ३ हजारका दरले पैसा तिरेका छौ । त्यो भन्दा माथि थाहा भएन । मैले मोहन भण्डारीलाई दिएकी हुँ । लालपुर्जा पनि उनैले खोजिदिए । ल्याउनु भाउजू लागेको रेट भने अनि लालपुर्जा दिए ।” स्थानीय जयन्ती देवी भण्डारीले भनिन् ।

३ नम्बर नापी टोलीले दिएको जानकारी अनुसार गत चैत्र महिनाबाट सुरु भएको पुनः नापीको काममा १ हजार ९ सय ७१ वटा आवेदन सङ्कलन भएको छन् भने त्यस मध्ये ७ सय १६ लालपुर्जा वितरण गरिएको छ । स्थानीयको दाबीलाई आधार मान्दा २१ लाख ४८ हजार प्रति कित्ताका हिसाबले अवैध रकम सङ्कलन भएको देखिन्छ । यस्तै पुनः नापीमा जग्गाको क्षेत्रफल बढी देखिएमा जग्गाको प्रकृति र क्षेत्रफल हेरेर प्रति व्यक्ति २ लाख देखी ८ लाख सम्म अवैध रकम सङ्कलन गरेको स्थानीयहरूकै दाबी छ । पुनः नापी कार्यमा साडेपानीबाट मात्रै ३ करोड बढी अवैध रकम सङ्कलन भएको हुन सक्ने श्रोतको भनाई छ ।
नापी टोली भन्छ: खुसीले दिएका छन् कसैलाई करकाप छैन
स्थानीयबाट प्रतिकित्ता बापतको रकम तोकेर सङ्कलन नगरेको तर स्थानीयहरूले आफू खुसी दिएको रकमलाई अवैध भन्न नमिल्ने ३ नम्बर नापी टोलीको भनाई छ । “हामीले जनताबाट लिने भनेको पुर्जा वितरण गर्दा लाग्ने २५ रुपैयाँ मात्र हो । त्यो बाहेक न लिएका छौ नत लिन नै मिल्छ । कहिले काहीँ फिल्डमा जाँदा कसैले खुसी भएर खाजा खाऊ, तेल हाल भनेर दिन्छ भने त त्यो हामीले करकाप गरेर मागेको होइन नि । कसैलाई यती रकम दिए मात्रै पुर्जा पाउँछौ नत्र पाउँदैनौ भनेका छैनौ । यसबारेमा मलाई हाल सम्म कुनै गुनासो पनि आएको छैन ।” नापी टोली प्रमुख नरेश विष्टले भने । यदि कर्मचारीहरूले आफ्नो जानकारी बिना त्यसो गरेका भए प्रमाण लिएर वा गुनासो लिएर आएमा सबैलाई छानबिनको दायरामा ल्याउने उनको भनाई छ ।
यसरी बाझियो कुरा
माथि उल्लेख गरिएको जयन्ती देवी भण्डारीको रकम बुझ्ने व्यक्ती हुन मोहन भण्डारा, उनी नापी टोलीका कर्मचारी भने होइनन् तर आफू पनि सोही पेसाका भएकाले चिनजान भएर नापी टोलीलाई बेला बखत सहयोग गर्दै आएका छन् । रकम सङ्कलन गर्नेमा उनको नाम समेत जोडिए पछि हामीले उनको प्रतिक्रिया लिन खोज्यौ । रकम सङ्कलनमा आफ्नो कुनै भूमिका नभएको र आफ्नो व्यक्तिगत मेसिन नापी टोलीले नाप जाँचमा प्रयोग गरेकाले सोही बापतको भाडा रकम लिएको उनको भनाई छ । “रकम उठाउने कुरा मलाई जानकारी नै नभएको विषय हो । नापी टोलीले २ दिन मेरो मेसिन भाडामा लिएर प्रयोग गरेको थियो । सो बापत १६ हजार रुपैयाँ मलाई नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले दिए । त्यही रकम लिएको हुँ अरू मलाई केही पनि थाहा छैन ।” मोहन भण्डाराले भने ।
यता नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले भने २ दिन नाप जाँचमा व्यक्तिगत मेसिन प्रयोग भए पनि सो बापत आफूले रकम भुक्तानी भने नदिएको प्रतिक्रिया दिएका छन् । “हामी सँग समन्वय गरेर उहाँहरू आफैले मेसिन प्रयोग गर्नु भएको हो । उहाँलाई मैले भाडा रकम भनेर १६ हजार दिएको छैन । अरू कुनै कर्मचारीले दिएको भए मलाई थाहा छैन । बरु मेसिन प्रयोग भएको दिन हामीलाई खाजा खानुहोला भनेर ५ हजार दिएका हुन । त्यो बाहेक कसै सँग रकम लिएको पनि छैन र कसैलाई दिएको पनि छैन ।” ३ नम्बर नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले भने ।
बिचौलिया गरिए खडा, समन्वय समिति भन्छ: हामीलाई थाहा छैन
जनताबाट अवैध रकम सङ्कलन गर्न नापी टोली र समन्वय समितिको मिलेमतोमा बिचौलियाहरू खडा गरेको स्थानीयको आरोप छ । वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी चौधरी नापी टोलीलाई सहयोग गर्न बनेको समन्वय समितिका संयोजक छन् । उनको संयोजकत्वमा ११ सदस्यीय समिति छ । तर आफूलाई अवैध रकम सङ्कलनका विषयमा कुनै जानकारी नभएको र जनताबाट समेत कुनै गुनासो नआएको उनको भनाई छ ।