समाचार सारांश
- • आइतबार सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा संस्थागत विद्यालयले घोडाघोडी नगरपालिकाका कर्मचारी टिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो ।
घोडाघोडीमा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि संस्थागत विद्यालय ‘ए’ टिमले हात पारेको छ । आइतबार सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा संस्थागत विद्यालयले घोडाघोडी नगरपालिकाका कर्मचारी टिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो ।
कान्तिराज्य लक्ष्मी मावि, पहलमानपुरको खेलमैदानमा भएको फाइनलमा खेलको सुरुवाती चरणमै गोल खाँदा दबाबमा परेको संस्थागत विद्यालयले १ मिनेटमै क्याप्टेन प्रदीप बमको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । त्यसपछि थप एक गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याएको संस्थागत विद्यालयले खेलमा पकड जमाइरहेको बेला डि–एरियामा हेण्ड हुदा कर्मचारी टिमले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई फेरि २–२ को बराबरीमा ल्याएको थियो । बराबरीपछि झनै रोमाञ्चक बनेको खेलमा संस्थागत विद्यालयले निर्णायक गोल गर्दै ३–२ को जित दर्ता गर्यो ।
यसअघि, सेमिफाइनलमा संस्थागत विद्यालयले घोडाघोडी व्यवसायी टोलीलाई २–० ले पराजित गरेको थियो भने कर्मचारी टिमले टाइब्रेकमा ‘लक्की टिम’ को रूपमा बाइ प्राप्त गर्दै फाइनल यात्रा तय गरेको थियो ।
विजेता बनेको संस्थागत विद्यालय ‘ए’ ले पुरस्कार स्वरूप ३३ केजीको आकर्षक खसी प्राप्त गर्यो भने उपविजेता कर्मचारी टिमले २७ केजीको आकर्षक बोका प्राप्त गरेको छ । 
घोडाघोडी सञ्चारकर्मी समूहको आयोजनामा “सामाजिक सद्भाव, प्रेम, मित्रता र एकताका लागि खेल” भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जनप्रतिनिधि, भलमन्सा, पालिकाका कर्मचारी, सामुदायिक विद्यालय शिक्षक, संस्थागत विद्यालय ‘ए’ र ‘बी’, डिभिजन वन कार्यालय पहलमानपुर कर्मचारी, घोडाघोडी व्यापारी, घोडाघोडी सुनचाँदी व्यवसायी संघ, त्रिवेणी बजार, घोडाघोडी जेसीज टिम र आयोजक सञ्चारकर्मी सहित १२ टोलीको सहभागिता रहेको थियो ।





