कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ की बासिन्दा हुन अपेक्षा रोकाया । समाज सेवामा सक्रिय उनी जुनकिरी नेपालकी अध्यक्ष तथा युवा सङ्घ नेपाल कैलालीकी सह–सचिव समेत हुन । हाल उनी अध्ययनको सिलसिलामा काठमाडौँ छिन् ।
आफ्नो भूगोलमा रहँदा विभिन्न सामाजिक कार्यमा सक्रिय उनीलाई गाउँ ठाउँकै माया र चिन्ता छ । उनी समय मिलाएर सङ्घीय सरकारका विभिन्न निकायमा धाउने र आफ्नो गाउँ ठाउँको विकास तथा समस्या समाधान गर्न लागी परेकी छन् । केही समय अघि उनको गृह वडामा रहेको कोइलीभुरुवा स्वास्थ्य सेवा केन्द्रमा आवश्यक औषधीको प्रबन्ध गरी पठाएकी उनले सोमबार पुनः वडा नम्बर ४ को निमुवाबोझी स्वास्थ्य सेवा केन्द्रका लागी आवश्यक औषधीको प्रबन्ध गरी पठाएकी छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत यस स्वास्थ्य सेवा केन्द्रका लागी ३५ हजार मूल्य बराबरका विभिन्न १० थरीका औषधीको जोहो गरेकी हुन ।

“सामाजिक सेवा गरिरहेको मान्छे त्यत्तिकै बस्न नसकिने रहेछ । गाउँघरको विकास गर्न सके, सामान्य समस्या समाधान गर्न सके हुन्थ्यो भन्ने लाग्छ । कतिपयले कामको आशा राखेर फोन गर्नु हुन्छ । केहीले योजनाको काम गरिदिनु प¥यो भनेर पनि भन्नु हुन्छ । पढाइले समय मिल्दैन तै पनि सक्ने जति काम गरिरहेको छु ।” उनले भनिन् ।
उसो त बर्दगोरिया गाउँपालिकामा रहेका १५ शय्या अस्पताल सहित थप ५ वटा स्वास्थ्य सेवा केन्द्रका लागी गाउँपालिकाले नै औषधीको जोहो गर्दै आएको छ । पालिका बाहेक अन्य निकायबाट पनि आवश्यक औषधी आपूर्ति भए सेवा प्रवाहमा थप सहजता हुने देखिएको छ । विभिन्न निकायबाट हुने निरन्तर औषधी आपूर्तिले स्वास्थ्य संस्थामा औषधीको अभाव समेत कमी हुने देखिएको छ ।




