सुखड : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मङ्गलबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले संघर्षपूर्ण जित दर्ता गरेको छ । आईपीएलकाे ३१ औं खेलमा राजस्थानले कोलकाता नाइट राइडर्स माथि २ विकेटको संघर्षपूर्ण जित हासिल गर्यो ।
टस जितेर फिल्डिङ गरेको राजस्थानले २ सय २४ रनको विशाल लक्ष्य पायो । विशाल लक्ष्य लिएर मैदान प्रवेश गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुरुवात चरण देखि नै एउटा इन्डबाट विकेट गुमाउँदै गएको राजस्थान हार नजिक पुगेको थियो । तर, एउटा इन्डबाट ओपनर जोस बटलर इनिङ सम्हाल्दै अन्तिम बलमा जित दिलाए ।
सुरुवात देखि नै पारी सम्हाल्दै गएका बटलरले अविजित १ सय ७ रनको शतकीय पारी खेले । उनले ६० बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यो सँगै आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गरेको हो ।
बटलरले जारी संस्करणको आईपीएलमा दोस्रो शतक प्रहार गरेका हुन् । अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए । त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाएका थिए ।
अन्तिमसम्म क्रिजमा जमेका बटलरले जित दिलाएरै छोडे । शतकीय पारी खेल्दै जित दिलाएका उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
यस्तै रियान परागले ३४ रन बनाउँदा रोभमन पावेलले २६, यशस्वी जैसवालले १९ रन बनाए ।
कोलकाता लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले २/२ विकेट हात पार्दा वैभव अरोराले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले सुनिल नारायणको शतकीय पारीमा ६ विकेट गुमाउँदै २ सय २३ रन बनायो । नारायणले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १ सय ९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे ।
राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २/२ तथा ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १/१ विकेट लिए ।
जित पछि राजस्थान ७ खेलमा १२ अङ्क सहित शीर्ष स्थानमा यथावत रहेको छ । कोलकता ६ खेलमा ८ अङ्क सहित दोस्रो स्थानमा छ ।
आईपीएलमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् ।