आफ्ना नागरिकलाई चिसोबाट बचाउन कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-५ ले न्यानो कपडा वितरण गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सोमबार वडा भित्रका ८६ जनालाई सिरक र डसना वितरण गरेको हो ।
वडा कार्यालयले २४ जना दलित ज्येष्ठ नागरिक, २५ जना एकल महिला र ३७ जना ग र घ वर्ग भएका अपाङ्गता भएका व्यक्तिहरू गरि ८६ जनालाई सिरक र डसना वितरण गरेको हो । आम नागरिक सबैभन्दा बढी ठोकिने वडा कार्यालय भएकाले वडावासीलाई सरकार भएको अनुभूति दिलाउन कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष भोलेराम डगौराले बताए ।
न्यानो लुगा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर र उपाध्यक्ष गणेशराज गिरीको समेत सहभागिता रहेको थियो । यस अघि पालिका अध्यक्ष कुँवरले पनि आफ्नो तलब भत्ताबाट अपाङ्गता भएका नागरिकलाई न्यानो लुगा वितरण गरेका थिए । पालिकाको समग्र विकासमा जिल्लामै उत्कृष्ट देखिएको बर्दगोरिया गाउँपालिका आम नागरिकको स्वास्थ्य र सुरक्षामा समेत गम्भीर बनेको सरकारका प्रतिनिधिहरूको भनाइ छ । सरकारको सहयोग पाए पछि स्थानीयहरू खुसी बनेका छन् ।
प्रकाशित :- २०८० माघ १६, गते मंगलवार