
डडेल्धुरामा मृत फेला परेकी १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ ।


डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो । बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए । डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला परेकी थिइन् ।

उनको शव प्लास्टिकको बोरामा फेला परेको थियो । भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही स्थानका पुस्तक व्यवसायी ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक समेत गरिसकेको छ । उनको पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल छ । हत्याका आरोपितले जुन कुरा प्रहरी समक्ष बयान दिएका थिए रिपोर्टमा पनि त्यही देखिएको डडेल्धुरा प्रहरीले बताएको छ । आरती र भण्डारीबिच एक वर्षदेखि प्रेम सम्वन्ध रहेको विषय यसअघि नै सार्वजनिक भइसकेको छ ।



