
कैलालीको सुखडमा शिलान्यासको सात वर्ष पछि प्रदेश स्तरीय विशेष शिक्षा आवासीय विद्यालय भवन निर्माणको काम अघि बढेको छ । शुक्रवार एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत, उपप्रमुख गुलिया चौधरी र प्रधानाध्यापक धन बहादुर बमले शिलान्यास गरे ।
सो विद्यालय निर्माण गर्न भन्दै यस अघि २०७६ साल असार १४ गते तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले समेत तामझामका साथ शिलान्यास गरेका थिए । सो कार्यक्रममा घोडाघोडीका तत्कालीन नगर प्रमुख ममता प्रसाद चौधरी, उप–प्रमुख प्रेम कुमारी थापा सहितका जनप्रतिनिधि समेत सहभागी थिए । तत्कालीन अवस्थाको नगरको नेतृत्व फेरिए पनि विद्यालय भवन निर्माणको कामले भने प्राथमिकता पाउन सकेको थिए । खगेन्द्र हमाल विद्यालयको नेतृत्व (अध्यक्ष) मा आएपछि भने भवन निर्माण सँगै विद्यालयका अन्य गतिविधिहरूमा समेत सकारात्मक कदमहरू थालिएका छन् ।


पहिलो पटक शिलान्यास भएको ५ वर्षपछि सोही विद्यालय भवन निर्माण गर्न दोस्रो पटक शुक्रवार शिलान्यास गरिएको हो । पहिलो पटक हचुवाको भरमा काम गर्न खोजिएकाले भवन निर्माण हुन नसकेको राष्ट्रिय माध्यमिक विद्यालय सुखडका अध्यक्ष खगेन्द्र हमाले बताए । “पहिला ठाउँ निश्चित थिएन । पर खोलाको किनारमा शिलान्यास गरिएको थियो । जुन प्राविधिक हिसाबले पनि उपयुक्त ठाउँ थिएन । त्यही खोला किनारमा भवन बनाउने भनेर सरकारले जग्गा व्यवस्थापनका नाममा लाखौँ खर्च समेत गरेको थियो । तर त्यो सम्भव भएन । हामीले आफ्नै अतिक्रमित जग्गा खाली गराएर आज पुनः शिलान्यास गरेर काम अघि बढाएका छौ । अब पहिला जस्तो हुँदैन ।” उनले भने ।
भवन निर्माणको जिम्मा मालिकामष्टा निर्माण सेवा लम्कीले पाएको छ । कुल २ करोड १६ लाख ७८ हजार ९ सय ३१ रुपैयाँ लागत रहेको सो भवन २०८२ साल असार ५ भित्र सम्पन्न गर्ने गरी २०८१ फागुन ८ मा सम्झौता गरिएको छ । यो सम्झौतामा फिजियोथेरापी, क्यान्टिन र होस्टेल गरी ३ वटा ब्लक (भवन) निर्माण हुने छन् । काम समयमै सम्पन्न गराउन विद्यालय परिवार निरन्तर लागी पर्ने जनाइएको छ ।




