कन्चनपुर : कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा स्थानीयले धर्ना दिएका छन् । उनीहरुले बेलौरी भन्सार सडक निर्माणमा ढिलाई गरिएको भन्दै नगरपालिकाको कार्यालयमा बुधवारदेखि धर्ना दिएका हुुन् ।
बेलौरी बजारदेखि नेपाल भारत सीमा सम्म करिब ४ किलोमिटर सडकको डिपिआर तयार भइसक्दा समेत पनि सडक निर्माणमा पालिकाले चासो नदेखाएकोले धर्नामा बस्नु परेको सडक संघर्ष समितिका संयोजक केशवराज जोशी बताए । संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्ना बस्नु परेको संयोजक जोशीको भनाई छ ।
सडक निर्माणका लागि संघर्ष समितिले नगरप्रमुख पोतिलाल चौधरीलाई गत माघ २६ गते १ सय ९६ र पुनः गत वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको थियो । २०७८ सालमा भन्सार रोडको डिपिआर तयार भैसकेको छ । प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइ सकेको र उक्त सडक निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कसर नराख्ने नगरप्रमुख चौधरीको भनाई रहेको छ ।