डिभिजन वन कार्यालय पहलमानपुरमा कार्यरत डिभिजनल वन अधिकृत राम बिचारी ठाकुर विवादित बनेपछि वन निर्देशनालय तानिएका छन् । उनको ठाउँमा शाखामा कार्यरत जेष्ठतम् कर्मचारी सुरेन्द्र कठायतलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
विचारीको कार्य सम्पादन सम्बन्धमा पटक पटक उजुरी तथा गुनासो पर्न थालेपछि अर्को व्यवस्था नभए सम्मका लागी वन निर्देशनालय धनगढीमा हाजिर गराउने भन्दै गत भदौ १४ गते मन्त्री स्तरको निर्णय भएको थियो । उनलाई २ दिन भित्र निर्देशनालयमा हाजिर हुन भन्दै गत भदौ १४ गते नै पत्राचार गरिएको थियो ।
उनले वन जङ्गलको संरक्षण भन्दा पनि आफू अनुकूलका कामहरू गर्ने गरेको भन्दै जनस्तरबाट आलोचना समेत भइरहेको थियो । हचुवाको भरमा भजनीको सुकुम्वासी बस्तीमा डोजर चलाए आलोचित बनेका उनले भजनी क्षेत्रकै एक व्यक्तिको जग्गा कारोबारमा समेत बदमासी गरेको आरोप लागेको छ । निमुखा र गरिब बस्तीमा डोजर चलाएका उनले घोडाघोडी नगरपालिका वडा नम्बर–५ को एक सामुदायिक वनमा अतिक्रमण हटाउने विषयमा भने वन समितिले हारगुहार गर्दा समेत वास्ता नगरेको श्रोतको दाबी छ ।
पटक पटक विवादमा पर्ने र काममा बदमासी गर्ने भन्दै उनलाई केही महिना पहिले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिई चेतावनी समेत दिएको थियो । यद्धपी उनले आफू विप्लवको नियन्त्रणमा नपरेको दाबी गर्दै पन्छिन खोजेका थिए ।