सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा दोस्रो पटक बजेट पेश गर्दैछ । पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले यसअघि असार १ गते पहिलो पटक बजेट पेश गरेको थियो । समाजवादी, एमाले र माओवादी गठबन्धन सरकारले पेश गरेको बजेट केन्द्रमा गठबन्धन फेरिएसँगै एमालेले सरकार छोड्दा बजेट पास हुन सकेको थिएन ।
नेकपा एमालेले सरकार छोडेपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अध्यादेश मार्फत बजेट पारित गर्ने खोजेका थिए तर प्रदेश प्रमुखको साथ नपाउँदा अध्यादेश ल्याउने विकल्प समेत बन्द भएको थियो । त्यसपछि साउन १८ गते सोडारीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए । २०८१ बैशाख ६ गते एमाले, माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले बजेट पारित गर्न नपाउँदै सत्ताबाट हात धुनु परेको थियो ।
२०७९ माघ २६ गते पहिलो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेस एमाले गठबन्धनबाट शाहले दोहोरिएर मुख्यमन्त्री हुने अवसर पाएका हुन् ।
सुशासन र पारदर्शिताको नारा दिएर मुख्यमन्त्री बनेका शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षको दुई महिना बितेपछि सोमवार बजेट प्रस्तुत गर्न लागेको छ । तर बजेट प्रस्तुत नगर्दै प्रमुख प्रतिपक्षी दल माओवादी र समाजवादीले विरोध जनाएका छन् । उनीहरूले एउटै आर्थिक वर्षका लागि दुई पटक संसद्मा बजेट पेश गर्नु गैरसंवैधानिक कदम भएको भन्दै विरोध जनाएका हुन् ।


