सुखड: कैलाली जिल्लाको घोडाघोडीमा आज सम्पन्न भएको ‘कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता’ ए डिभिजन लिगकाे उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले उचालेको छ । आज भएको उपाधि भिडन्तमा आयोजक घोडाघोडी क्लबलाई २-१ गोल अन्तरले पाखा लगाउँदै उपाधि चुमेको हो ।
जिल्लाको घोडाघोडी घोडाघोडी नगरपालिका-१, स्थित सुखड रंगशालामा भएको उपाधि भिडन्तमा सुरुवाती अग्रता बनाएको आयोजक घोडाघोडी क्लब अन्ततः विजय स्पोर्ट्स क्लब धनगढीसंग स्तब्ध बन्न पुग्यो। खेल सुरु भएको एक मिनेटमै सुन्दर गोल गर्दै अग्रता बनाएको घोडाघोडीले उक्त अग्रतालाई कायम गर्न सकेन । पहिलो हाफको मध्य तिर धनगढीले पहिलो गोल गर्दै खेल १-१ काे बराबरीमा पुग्यो ।
पहिलो हाफमा घोडाघोडीले दुई ओटा गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग भने गर्न सकेन । त्यस्तै धनगढीले पनि पहिलो हाफमा एक अवसर पाएपनि गोल गर्न नसक्दा अन्ततः पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।
दोस्रो हाफको मध्य तिर धनगढीले पुनः गोल गर्दै खेललाई २-१ गोलको अन्तरमा पुर्यायो । दोस्रो हाफमा पनि घोडाघोडीले दुई ओटा मौका पाएकाे थियो तर त्यसलाई सदुपयोग गर्न नसक्दा उपाधि रक्षा बाट आयोजक टोली वञ्चित बन्न पुग्यो ।
घरेलु टोलीलाई उसकै मैदानमा स्तब्ध पार्दै धनगढी स्पोर्ट्स क्लबले उपाधि रक्षा गर्दै ट्रफि र नगद ७५ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेतामै सीमित बनेको घोडाघोडीले नगद ३७ हजार ५ सयमा चित्त बुझाएको छ ।
यस अधि ‘वि’ डिभिजन लिगको उपाधि मङ्गल युवा क्लब गौरीगङ्गा हात पार्दा क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले उचालेको थियो ।
गत वैशाख २८ गते देखि सुरु भएको जिल्ला लिग आज जेठ १२ गते सम्म सम्पन्न भएको हो । नेपाल फुटबल सङ्घ एन्फाको वार्षिक कार्यपालिका अनुसार कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भएको थियो ।
प्रतियोगितामा जिल्लाका ‘ए’ डिभिजनका ७, ‘बि’ डिभिजनका ६ र क्वालिफायर्सका ७ टोली गरी कुल २० टोलीको सहभागी रहेको थियो ।
‘ए’ डिभिजन लिगको विजेता टोलीले ७५ हजार प्राप्त गर्दा ‘बि’ डिभिजनको प्रथम हुने टोलीले ५० हजार नगद प्राप्त गरेको छ ।





