सुखड : देशैभरि शुक्रबारदेखि अविरल वर्षासँगै आएको बाढी पहिरोले करोडौँको क्षति गरेको छ भने हालसम्म ७० जनाले ज्यान गुमाइ सकेका छन् । प्रहरीका अनुसार बाढी र पहिरोबाट पछिल्लो २ दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै ८६ जना घाइते भएका छन् ।
यस्तै अविरल वर्षासँगै आएको हावाहुरीले डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा मकै बारीमा ठूलो क्षति गरेको छ । शुक्रबारदेखि अविरल रुपमा परेको पानीसँगै आएको हावाहुरीले भरखरै गोडमेल गरेर तयार गरेको मकै बारीमा ठूलो पुर्याएको हो । ‘गोडमेल गरेर भर्खरै सम्पन्न गरेको बारीमा हावाहुरीले क्षति पुर्याएको छ’, वडा नं. ४ रनुकाँडाका विशाल ताडीले भने, ‘भर्खरै गोडेर पल्टाएका मकै जरा हाल्न आँटेका बेला पानीसँगै आएको हावाहुरी गर्दा भाँचिएको छ । अधिकांश मकैका बोट काम नै नलाग्ने स्थितिमा रहेका छन् ।’
त्यस्तै गाउँपालिका देखि वडा नं. ४ मान्नाकापडी जोड्ने कृषि सडकमा पनि क्षति पुर्याएको पनि उनले जानकारी दिए । ताडीका अनुसार उक्त सडक अन्तर्गत लमागडामा नदीमा बनी रहेको कल्भर्ट पनि अविरल वर्षासँगै आएको बाढीले एक छेउबाट बगाएको छ । ११ लाखमा ठेक्का सम्झौता भै निर्माण कार्य सम्पन्न भैनसकेको अवस्थामा पानी आएपछि बगाएको हो ।
गाउँपालिका भित्रका विभिन्न स्थानमा मकै बारीमा ठूलो क्षति गरेको गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष पदम बहादुर बोहराले जानकारी दिए । ‘कति क्षति गर्यो भनेर यकिन अहिले थाहा छैन् अध्यक्ष बोहराले भने’, ‘क्षतिको विवरण भने गाउँ गएपछि मात्रै थाहा हुने हो तर औलतिरका मकैबारीमा त्यति क्षति नगरेको भए पनि लेकतिरका मकैबारीमा भने निकै क्षति गरेको छ ।’
उनका अनुसार अविरल वर्षाले गाउँपालिका भित्र रहेका विभिन्न कृषि सडकहरूमा पहिरो खसेका कारण अधिकांश सडक अवरुद्ध रहेका छन् ।