कैलाली: यतिबेला टी २० विश्वकप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकप अघि नेपाल अभ्यासमा व्यस्त छ । सोही अनुसार नेपाली टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले पाखा लगाउँदै विजयी भएको हो ।
नेपालले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनकाे मध्यम लक्ष्य खडा गर्यो । ह्युस्टनसँग नेपालले आज राति दोस्रो अभ्यास खेल खेल्ने समय तालिका रहेको छ ।
त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ । नेपालले जेठ १४ क्यानडा र जेठ १७ गते अमेरिकासँग खेल्नेछ । टी २० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलङ्का, बङग्लादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ गते अमेरिकाको डालास र जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । यस्तै जेठ ३२ गते दक्षिण अफ्रिकासँग र असार २ गते बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । अमेरिका र वेस्ट इन्डिजले आईसीसी टी २० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । टी २० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।