सरकारले सरकारी कार्यालयमा कार्यरत कर्मचारीको खाजा समय आधा घण्टा कटौती गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको बताएका छन् ।
ओलीले सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको उल्लेख गरेका छन् । उनले ‘खाजा पनि खानु पर्छ तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन’ भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको उनले लेखेका छन् । साथै प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोध समेत गरेका छन् ।

