
कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को उपलब्धि, देखिएका समस्या र आइपरेका चुनौतीका बारेमा सोमबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।


कार्यक्रममा पालिकामा रहेका दोदोधरा अस्पताल, कोटातुल्सीपुर स्वास्थ्य चौकी, रानिकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्र, निमुवाबोझी आधारभूत स्वास्थ्य सेवा केन्द्र, कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दोघरा आधारभूत स्वास्थ्य सेवा केन्द्रले आ–आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख मीनबहादुर धामीले समग्र पालिकाको उपलब्धिका बारेमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।


दोदोधारा अस्पतालले २४ सैं घण्टा चिकित्सकीय सेवा प्रदान गरेको, आँखा उपचार केन्द्र सञ्चालन गरेको, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा सुरु गरेको, वडा नम्बर ३ र ५ गरी थप २ वटा प्रसूति गृह सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै लागूपदार्थ र मादक पदार्थ दुव्र्यशनी बढेको, समुदायमा जनचेतनाको कमी भएको, उमेर नपुगी विवाह गर्ने दर अझै कम हुन नसकेको तथा मधुमेह, दम लगायतका रोगहरू बढ्ने क्रममा रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।


गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३८ हजार १ सय १६ जनाले स्वास्थ्य सेवा लिएकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा भने ५४ हजार ४ सय २८ जनाले विभिन्न स्वास्थ्य संस्था मार्फत सेवा लिएका छन् । स्वास्थ्य सेवा केन्द्र मार्फत घर आँगनमा र अस्पताल मार्फत चिकित्सकीय सेवा प्रवाह गर्न थालेपछि स्वास्थ्यमा मानिसहरूको पहुँच सहज भएको बताइएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले स्वास्थ्यमा नागरिकको पहुँच बढाउन तथा सरकारी अस्पतालमा नागरिकहरूको विश्वास बढाउन आफूहरू निरन्तर लागी परेको बताए । “हामीले स्वास्थ्य, शिक्षा र खाने पानीलाई प्रमुख रूपमा अघि बढाएका छौ । त्यसको लागी तपाई कर्मचारीहरू जसरी लागी पर्नु भएको छ । तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ तर यत्तिले मात्रै पुग्दैन । समीक्षा कार्यक्रममा देखिएका समस्या समाधान गर्न हामी सबै लागौँ र सरकारी स्वास्थ्य संस्थाले निजी भन्दा राम्रो तरिकाले उपचार गर्छ भन्ने वातावरण बनाऔँ ।” उनले भने ।
कार्यक्रममा स्वास्थ्य संस्थाहरूमा पर्याप्त जनशक्ति नभएको, भवनहरूको घेर बार नभएको, विद्युत्को मर्मत हुन नसकेको, भवन अभाव रहेको, खानेपानी व्यवस्थापन नभएको लगायतका समस्याहरू समेत देखिएका छन् ।