
आधारशिला वृहत शैक्षिक तथा साँस्कृतिक कार्यक्रम २०८० शनिबार सम्पन्न भएको छ । ललितपुर जिल्लाको एकान्तकुनामा अवस्थित आधारशिला एकेडेमीको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी प्याव्सनका केन्द्रीय उपाध्यक्ष टंक भट्टराई थिए । प्रमुख अतिथी भट्टराईले त्रिपक्षीय समन्वयबाट मात्रै शिक्षामा थप सुधार गर्न सकिने बताएका छन । अभिभावक, विद्यार्थी र शिक्षकको मेहनेतले नै कुनै पनि विद्यालयको शैक्षिक अवस्था मजबुत बन्न सक्ने उनको भनाई थियो । भट्टराईले नीजी विद्यालयको अवस्था सुधार गर्नमा सबैभन्दा बढी जिम्मेवारी अभिभावकहरुको हुने उल्लेख गरे । विद्यालयमा बुझाउनु पर्ने शुल्क नियमित रुपमा तिर्दै विद्यालयमा आवश्यक सल्लाह सुझाव दिनु असल अभिभावकको गुण भएको भट्टराईले बताएका छन् ।

विद्यालयका प्राचार्य गणेश गिरीले आधारशीलाको मुख्य उदेश्य नै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु भएकाले ढुक्क हुन सम्पूर्ण अभिभावकलाई आग्रह आग्रह गरे । उनले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार देखि पुस्तकालय, कम्प्युटर ल्याब, खेल मैदान जस्ता संरचना पर्याप्त रुपमा रहेको जानकारी दिए । प्राचार्य गिरीले विद्यार्थीलाई रोजगारसंग जोड्नका लागि सिपमूलक र अतिरिक्त क्रियाकलाप विशेष प्राथमिकता दिइरहेको बताए ।
यसै अवसरमा हालसालै सेवा निवृत्त भएकी ललितपुर महानगरपालिकाकी तत्कालीन शिक्षा अधिकृत सरिता पौडेललाई सम्मान गरिएको थियो । ललितपुर महानगर सहित आधारशिला एकेडेमीको शैक्षिक अभियानमा महत्वपूर्ण योगदान पुर्याए बापत उनलाई सम्मान गरिएको हो । सम्मान पश्चात बोल्दै पौडेलले सरकारी सेवाबाट अवकाश भए पनि आगामी दिनमा आवश्यक सल्लाह सुझाव चाहिएको खण्डमा आफू सहयोग गर्न तयार रहेको बताइन ।
साथै विद्यालयमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए । उक्त कार्यक्रमको सञ्चालन एकेडेमीका संयोजक शम्भु सुवेदीले गरेका थिए ।
