समाचार सारांश
- • मंगलसेन नगरपालिका–५ का राईजु भाटले समितिको शौचालयसहितको कोठा पाँच वर्षदेखि आफ्नो नियन्त्रणमा लिएका छन्।
- • कार्यालयका अन्य कोठा भाडामा दिइरहँदा भाटले भने बिना भाडा ‘फ्रिमा’ कोठा र शौचालय प्रयोग गर्दै आएका छन्।
- • समन्वय समिति स्रोतका अनुसार भाटलाई पटक–पटक कोठा खाली गराउन पत्राचार गरिएको भए पनि उनले अटेर गर्दै आएका छन्। कांग्रेसी भएकै कारण जिल्ला समन्वय समिति उपप्रमुख दानमति बम शाहले भाटलाई कोठा नछाड्न निर्देशन दिने गरेकी छन्।
राजनीति तिडमा जिल्ला समन्वय समिति अछामको कार्यालय परिसरभित्र रहेको एक भवन पाँच वर्षदेखि अनाधिकृत रूपमा निजी व्यक्तिले कब्जा गरेको खुलासा भएको छ।
मंगलसेन नगरपालिका–५ का राईजु भाटले समितिको शौचालयसहितको कोठा पाँच वर्षदेखि आफ्नो नियन्त्रणमा लिएका छन्। कार्यालयका अन्य कोठा भाडामा दिइरहँदा भाटले भने बिना भाडा ‘फ्रिमा’ कोठा र शौचालय प्रयोग गर्दै आएका छन्। त्यति मात्र होइन, उनी जिल्ला समन्वय समिति कै बिजुली लाइन प्रयोग गर्दै आएका छन्।
समन्वय समिति स्रोतका अनुसार भाटलाई पटक–पटक कोठा खाली गराउन पत्राचार गरिएको भए पनि उनले अटेर गर्दै आएका छन्। हालसम्म समितिले भाटलाई पाँच पटकसम्म पत्र पठाइसकेको छ। यसैगरी, कार्यालयले जिल्ला प्रहरी कार्यालय अछामलाई समेत सहयोगको लागि पत्र लेखे पनि राजनीतिक दबाबका कारण प्रहरी समेत निष्क्रिय रहेको समिति स्रोतले जनाएको छ।
भाटको राजनीतिक पहुँच नेपाली कांग्रेससँग जोडिएको बताइएको छ। उनी कांग्रेस अछामका सभापति तथा विघठित संघीय सांसद पुष्पबहादुर शाहको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छन्। सोही कारणले शाहकी सम्धीकी बुहारी जिल्ला समन्वय समिति उपप्रमुख दानमति बम शाहले भाटलाई कोठा नछाड्न निर्देशन दिने गरेको स्रोतको दाबी छ।
भाटले कब्जा गरेको कोठा तत्कालीन जिल्ला विकास समिति अछामको अभिलेख राख्न प्रयोग गर्नुपर्ने भवन हो। तर भाटले नछाडेपछि समितिका कागजातहरू हाल खुला पार्किङ क्षेत्रमै राखिएको छ।
पूर्व समिति प्रमुख नरबहादुर कुँवरका अनुसार, “होटल मर्मतको क्रममा केही दिन बस्न अनुमति दिइएको थियो, तर सधैंका लागि बस्न भने कुनै निर्णय भएको थिएन।”
यता, समितिले पुनः एक पटक कोठा खाली गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताएको छ।


