सुखड: ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि आज नेपाल र हङकङसँग प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार अपराह्न सवा चार बजेदेखि सुरु हुनेछ ।
शुक्रबार भएका सेमिफाइनलमा नेपाल र हङकङ पराजित हुँदै उपाधिबाट वञ्चित भएपछि आज तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । नेपाल पहिलो सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित हुँदा हङकङ दोस्रो सेमिफाइनलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो ।
यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो । तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको यूएई सेमिफाइनलमा नेपाललाई पराजित गर्दै फाइनलमा पुग्यो ।
गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणका सबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो ।
शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनाको ढोका पनि बन्द भएको छ ।
आइतबार ओमान र यूएईबिच उपाधिका लागि भिडन्त हुँदै छ । उपाधि विजेता टोली एशिया कपमा छनोट हुने छ ।