
सुखड: ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेट अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित हुँदै नेपाल एसिया कपको दौडबाट बाहिरिएको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको यूएईले १७.२ ओभरमा मात्रै ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर अलिशान शराफु अविजित ५५ रनको पारी खेले । त्यस्तै विष्णु सुकुमारन २८ रनको पारी खेले ।
बलिङ तर्फ नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएकाे नेपालले निर्धारित २० ओभरमा १ सय १९ रनको सामान्य लक्ष्य खडा गर्यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेल्न बाहेक अन्यले गतिलो प्रर्दशन गर्न सकेनन् । यस्तै गुल्सन झाले २० तथा करण केसीले १७ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्
बलिङ तर्फ यूएईका जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २-२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १-१ विकेट हात पारे ।

यो जित सँगै यूएई फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि दोस्रो सेमिफाइनलमा ओमान र हङकङ बीच विजेता टोलीसंग खेल्ने छ । नेपाल अब दोस्रो सेमिफाइनलमा पराजय हुने टोलीसंग तेस्रो स्थानको लागि खेल्ने छ ।
उपाधि विजेता टोली एसिया कपमा छनोट हुने छ । त्यहि भएर यूएई एसिया कपको दौडमै रहेको छ ।