
दार्चुलामा भागेका अभियुक्तलाई समात्न खोज्दा भीरबाट लडेर प्रहरी जवान सुवान चौधरीको ज्यान गएको छ । सोमबार प्रहरी हिरासतमा रहेका अभियुक्त उमेश कुँवरलाई अस्पताल लैजाँदै गर्दा हतकडी सहित भागेपछि समात्ने क्रममा भीरबाट लडेर चौधरी गम्भीर घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेका घाइते चौधरीको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । कैलालीको कैलारी गाउँपालिका घर भएका चौधरी दार्चुलामा कार्यरत थिए ।
दार्चुलाका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवर विरुद्ध उनकी श्रीमतीले आफूलाई बन्धक बनाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन । माघ ७ गते सोही मुद्दामा उनलाई पक्राउ गर्न गएका दुई प्रहरीमाथि कुँवरले खुकुरी प्रहरी गरी फरार थिए । कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । हतकडी सहित महाकाली पार गरेका कुँवरलाई भारतीय सेनाले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।


प्रकाशित :- २०८० फाल्गुन २८, गते सोमबार