
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा एक दिने व्यावसायिक बङ्गुर पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड सुखड शाखाको आयोजनामा व्यावसायिक बङ्गुर पालन सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिममा गौरीगंगा, घोडाघोडी, भजनी, लम्की चुहा नगरपालिका,बर्दगोरीया र जोशीपुर गाउँपालिकाका भित्रका विभिन्न सेवा केन्द्रका करिब ३० जना महिलाहरूको सहभागिता रहेको थियो ।लघुवित्त वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिमको आयोजना गरिएको सुखड शाखाले जनाएको छ । तालिममा सहभागीहरूलाई घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक मनोज बहादुर आचार्यले प्रशिक्षण दिनु भएको थियो । उहाँले बङ्गुर पाल्ने तरीका, बङ्गुर पालन गर्दा अपनाउनु टिप्सहरू र सुधारात्मक शैली लगायत विभिन्न विषयको बारेमा जानकारी दिनु भएको थियो ।

तालिममा सहभागी महिलाहरूले बङ्गुर पालन गर्दा कसरी अझै व्यवस्थापन गरेर पालन गर्न सकिन्छ भन्ने विषयमा धेरै जानकारी भएको उनीहरूले बताएका छन् । महिला दिदी बहिनीहरूलाई तालिम दिने, सीप सिकाउने, क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउनु यस संस्थाको मुख्य लक्ष्य रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड सुखड शाखा प्रमुख दिनेश चौधरीले बताए ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड सुखड शाखा प्रमुख दिनेश चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्की शाखाका प्रमुख मनोज भट्टराई रहेका थिए । तालीमको सहजीकरण अरुण चौधरीले गरेको थिए ।
