साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा बङ्गलादेशले साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समयमा बङ्गलादेश र भारत बिचको खेल १-१ गोलको बराबरीमा रोकिएको थियो । खेल बराबरीमा सकिएपछि टाइब्रेकरबाट विजेताको टुङ्गो लगाउनु परेको थियो । टाइब्रेकरमा बङ्गलादेशी गोलकिपरले २ जना भारतीय खेलाडीको प्रहार गोल हुनबाट जोगाउँदै टोलीलाई फाइनलमा पु¥याएका हुन् ।
खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा बङ्गलादेशका एक जना खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएपछि बङ्गलादेश १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफमा गोल गरेर बङ्गलादेशले अग्रता लिए पनि पूर्णतः डिफेन्समा उत्रिएको भएपनि जोगाउन सकेन र दोस्रो हाफमा भारतले गोल गर्दै खेल बराबरीमा पुऱ्यायो । त्यसपछि भारतले बङ्गलादेशको गोल पोस्टमा निरन्तर आक्रमण गरे पनि गोल गर्न भने सकेन ।

अब बुधवार हुने उपाधि भिडन्तमा बङ्गलादेशले घरेलु टोली नेपालको सामना गर्ने भएको छ । एन्फाका अनुसार फाइनल खेल भने दशरथ रङ्गशालामा हुनेछ ।
