बनहरू अतिक्रमणको चपेटामा परिरहेका बेला कैलालीमा अतिक्रमण हटाउन थालिएको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ आमवारिमा वर्षौ देखी अतिक्रमणको चपेटामा परेको सयपत्री सामुदायिक वन क्षेत्र खाली गराइएको हो ।
डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार सो सामुदायिक वनका उपाध्यक्ष समेत रहेका स्थानीय जितबहादुर बडैलाले करिब ४ वर्ष अघि देखी ३ हेक्टर बढी क्षेत्र अतिक्रमण गरी आम र फलफूलका बिरुवा लगाएका थिए । अतिक्रमण खाली गराउन बारम्बार परिपत्र गर्दा समेत अटेरी गर्ने, सम्पर्कमा नआउने र उल्टै वन कर्मचारीलाई हातपातको प्रयास गर्न थालेपछि दलबलका साथ गत बुधवार अतिक्रमित वनमा लगाइएका बिरुवाहरू हटाएको डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत नितेश कुमार भट्टराईले जानकारी दिए ।
“उनी एक्लैले ३ हेक्टर बढी वन क्षेत्र अतिक्रमण गरेका रहेछन् । स्थानीयहरूले उनको विरोध गरिरहेका थिए । उसलाई हटाउनु प¥यो नभए हामीलाई पनि जमिन दिनु प¥यो । हामी पनि फलफूल लगाउँछौ भनेर स्थानीयहरूले दबाब दिइरहेका थिए । उनलाई अतिक्रमण हटाउन आग्रह गर्दा समेत अटेरी गरेपछि हामी आफैले हटाएका हौ ।” उनले भने ।
वन अतिक्रमण गर्ने बडैला पक्राउ पर्ने डरले अहिले फरार छन् । उनले शुक्रवार धनगढी पुगेर वन आफैले सालका रुखहरू काटेको दाबी पत्रकारहरू सँग गरेका थिए । तर वनले आँप र फलफूल बाहेकका बोटहरू नकाटेको दाबी गरेको छ । “उनले आँप र फलफूलको ठाउँमा सालै साल लगाएको भए हामी उनलाई हटाए पनि बिरुवा काट्दैन थियौ । तर त्यहाँ त्यसो थिएन । हामीलाई गलत देखाउन उनले बुधवार राती नै केही सालका रुखहरू काटेका छन् । त्यही राती उनको माछा पालनमा जाँड पार्टीको आयोजना पनि रहेछ । तर हाम्रा कर्मचारी त्यहाँ पुगेपछि उनी फरार भए । मोटरसाइकल हामीले नियन्त्रणमा लिएका छौ ।” वन अधिकृत भट्टराईले भने ।