सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वरिष्ठ डिभिजनल वन अधिकृतहरूको सरुवा प्रक्रिया रोक्ने निर्णय गरेको छ। पहलमानपुर डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कडेल, कैलाली डिभिजन वन कार्यालयका प्रमुख कृष्णदेव भट्ट र कञ्चनपुर डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको अवधि नपुग्दै गरिएको सरुवालाई उच्च अदालत दिपायलले रोकिदिएपछि सरुवा बदर गरिएको हो।
डिभिजनल वन अधिकृत कडेल र भट्टले अवधि नपुग्दै नियम विपरीत सरुवा गरिएको भन्दै उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए। सोही रिटमा अदालतले भदौ ५ गते सरुवा नगर्न नगराउन भनी अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि मुख्यमन्त्री कार्यालयले सरुवा यथावत् राख्ने निर्णय गरेको हो।
अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै ठाकुर कैलाली डिभिजन वन कार्यालय, धनगढीमा हाजिर भएका थिए। दुई दिन कैलाली डिभिजन वन कार्यालयमा ठाकुरले हाजिर गरेका थिए। मन्त्रालय स्रोतका अनुसार अन्तत उनी पुनः कञ्चनपुर फर्किनु परेको छ।


