
कैलाली : मंगलबार विहान कारको ठक्करबाट कुबेतमा अछामको एकसहित तीन नेपालीको मृत्यु भएको छ । कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा अछामको पन्चदेवल विनायक–५ का सुरतबहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगर रहेको नेपाली राजदूतावास कुवेतले जनाएको छ ।
कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमजान सुरु भएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए । कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका बताइएको छ ।
गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई स्थानीयले चलाएको कारले ठक्कर दिएको जानकारी प्राप्त भएको छ । प्रहरीले गाडी चालकलाई पक्राउ गरि सकेको छ ।






