सुखड : कैलालीको घोडाघोडीमा विहीबार अपरान्ह ४ बजे बस र टिप्पर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा १ ख २७३३ नम्बरको टिप्पर र सोही दिशातर्फ गैरहेको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । टिप्परसँग ठोकिएपछि बस नालामा खसेको थियो ।
दुर्घटनामा परि बस चालक सहित ६ जना घाइते भएका छन् । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का २७ वर्षीया चन्द्र बोहराको खुट्टामा चोट लागेको छ । यस्तै घाइते हुनेमा, गौरीगङ्गा नगरपालिका ९ का ४० बर्षिया अनिता चौधरी सोही ठाउँकी बर्ष ४ कि अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका १९ फूलबारीकी २९ वर्षीया माया चौधरी सोही ठाउँका बिपिन चौधरीका साथै बसमा सवार वर्ष ३२ को भारतीय नागरिक सुरेश निगम रहेका प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको छ । साथै स्थानीय घोडाघोडी अस्पतालमा घाइतेहरूको उपचार भैरहेको छ ।
घोडाघोडी नगरपालिका ५ का २५ वर्षीया टिप्पर चालक लाल बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : प्रेम बोगटी


