ललितपुर : ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा बढी ६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०÷८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन गरिएको हो ।
“सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु २ अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो । तर, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्याङ्कअनुसार २ अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व सङ्कलन भइसकेको देखिएको छ, राजस्व सङ्कलनको तथ्याङ्क अद्यावधिक भइरहेको र अन्तिम तथ्याङ्क आइसकेको छैन,” थापाले भने ।
त्यस्तै, गत आर्थिक वग.वर्षमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए ।
“गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ रु चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार रु तीन अर्ब २५ करोड आठ लाख ८८ हजार खर्च भएको छ,” धिमालले भने ।
राजस्व सङ्कलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०÷८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले रु ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछ्र्यौट गरेको धिमालले जानकारी दिए ।



