सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ ।
काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने सम्भावना छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । लामिछानेलाई पछिल्लोपटक मंसिर ९ गते १५ दिन म्याद थप भएको छ । १५ दिनको म्याद मंसिर ८ गतेदेखि गणना हुने छ ।
लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरु पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरु माथि छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ । संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि, छवि र रम्तेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी राई फरार छन् ।