
कञ्चनपुर जिल्लाको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको गरिएको छ ।


गएराति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका-७, च-गाउँमा गस्तीमा निस्केको शाहीसहित ९ जनाको प्रहरी टोली चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ । चार्डपर्वका बेला हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवन बस्तीका इन्स्पेक्टर शाही सहित ९ जनाको प्रहरी टोलीको भ्यान गस्तीमा निस्केको थियो ।
गस्तीमा निस्केका बेला पुनर्वास-७, बुद्धबस्तीमा खडखडे खेलिरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको इन्स्पेक्टर शाहीले जानकारी दिएका छन् । ‘खडखडे भईरहेको थियो, सम्झाएर नियन्त्रण गर्न खोज्दा ममाथि २५/३० जनाको समूहले आक्रमण गरे,’ उनले भने, ‘आक्रमणबाट मेरो कानमा चोट लागेको छ, अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडिको सीसा र पछाडिको छानोमा क्षति पुगेको छ ।’

आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको इन्स्पेक्टर शाहीले बताएका छन् । आक्रमणमा परेका इन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका-६ स्थित टाउन हस्पिटलमा उपचार भएको थियो । आक्रमण गर्नेहरूको पहिचान गरी कानुन बमोजिम कारवाही गरिने इन्स्पेक्टर शाहीको भनाई छ ।



