समाचार सारांश
- • आइतबार बिहानैदेखि व्यवसायीहरूले नगरपालिका परिसरमा ट्याक्टर, टिपर तथा निर्माण सामग्री जम्मा गर्दै आन्दोलन सुरु गरेका हुन्।
कैलालीको घोडाघोडी नगरपालिकामा खोलानालाको ठेक्का प्रक्रिया लामो समयसम्म अघि नबढेको भन्दै निर्माण व्यवसायी तथा ट्याक्टर व्यवसायीहरू आन्दोलित बनेका छन्। आइतबार बिहानैदेखि व्यवसायीहरूले नगरपालिका परिसरमा ट्याक्टर, टिपर तथा निर्माण सामग्री जम्मा गर्दै आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनरत व्यवसायीहरूले नगरपालिका अगाडि ट्याक्टर तथा अन्य निर्माण सामग्री राखी प्रदर्शन गरेका छन्। उनीहरूले रातभर सामग्री नगरपालिकामै थन्क्याएर घर फर्किएका छन्। आफ्ना मागहरू सुनुवाइ नभए सोमबारदेखि आन्दोलनलाई अझ कडा बनाउने चेतावनी समेत दिएका छन्।
ट्याक्टर व्यवसायी रेवन्त खड्काका अनुसार नगरपालिकाले व्यवसायीका जायज मागहरू बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ। घोडाघोडी नगरपालिका अन्तर्गतका खोलानालामा ठेक्का नलाग्दा नगरपालिकाको आन्तरिक आम्दानीमा असर परेको, कर संकलन हुन नसकेको तथा यसबाट स्थानीय व्यवसायी र आम नागरिकसमेत प्रत्यक्ष रूपमा मारमा परेको उनको भनाइ छ।
नगरपालिकाले गत साउन महिनामा पहिलोपटक खोलानालाको ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्कामा सुनसरीस्थित एचएम बिल्डर्सले ६ करोड ४१ लाख ८४ हजार रुपैयाँको बोलपत्र पेश गरेको थियो, जुन नगरपालिकाको मूल्याङ्कन समितिबाट स्वीकृत समेत भएको थियो। मूल्याङ्कन स्वीकृत भइसकेपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई सम्झौता गर्न आशयपत्रसमेत जारी गरेको थियो।
तर धरौटी रकम समयमै जम्मा हुन नसकेको र ठेकेदार पक्ष सम्झौता गर्न उपस्थित नभएको भन्दै नगरपालिकाले उक्त ठेक्का रद्द गरेको जनाएको छ। ठेक्का रद्दसँगै ठेकेदार कम्पनीले पेश गरेको करिब ३५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी समेत जफत गरिएको थियो।
नगरपालिकाको निर्णयविरुद्ध सम्बन्धित निर्माण कम्पनी सर्वोच्च अदालत पुगेपछि खोलानालाको ठेक्का प्रक्रिया लामो समयसम्म रोकिएको नगर प्रमुख खडकबहादुर रावतले बताए। उनका अनुसार अदालती प्रक्रिया हाल सकिएको छ र अदालतले सम्बन्धित ठेकेदारलाई धरौटी रकम फिर्ता गर्न आदेश दिएको छ।
अदालतको फैसला आएपछि नगरपालिकाले माघ ८ गतेदेखि पुनः ३५ दिने ठेक्का सूचना जारी गरेको भए पनि प्रक्रिया ढिलो भएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।





