धनगढी : कैलालीको धनगढी उमहानगरपालिकामा कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ।
उपमहानगरकाे गतवर्षको सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा यो वर्ष उल्लेखनीय मात्रामा सुधार देखिएको हो। गत वर्षकाे परीक्षामा सहभागी भएका मध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए। तर, यो वर्ष भने सामुदायिक विद्यालयबाट पहिलो चरणमा नै ३१ प्रतिशत विद्यार्थी सफल भएका छन् ।
गत वर्षकाे परीक्षामा १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो तर यस पटक भने कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छैन।
शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए । खातीले भने, “यो वर्ष गत वर्षको तुलनामा कक्षा ८ को परीक्षाको नतिजामा सुधार देखिएको छ। यो वर्षको नतिजालाई सन्तोषजनक भन्न मिल्छ ।”
यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५ सय २४ विद्यार्थी कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका थिए । परीक्षामा सम्मिलित भएका मध्ये १ हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन्। “गत वर्ष ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थीले कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड हासिल गरेका छन्। गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित भएकाले यो वर्ष नतिजामा पनि सुधार भएको छ,” शिक्षामा महाशाखा प्रमुख खातीले भने।
यस पटक धनगढीका सामुदायिक विद्यालयमा अधिकतम ६५ दशमलव ७८ र न्यूनतम ७ दशमलव ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढी-१६ को बेहडाबाबा माध्यमिक विद्यालयका सर्वाधिक ६५ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन्।
त्यस मध्ये बेहडाबाबा माध्यमिक विद्यालयका ७६ मध्ये ५० जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका छन् । धनगढी-३ को त्रिभुवन माध्यमिक विद्यालयको ६० प्रतिशत नतिजा आएको छ भने सिद्धनाथ माध्यमिक विद्यालय जुगेडाका ५८ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय उर्माबाट ५५ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यो वर्ष शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गर्दा नतिजामा सुधार भएको ठम्याइ शिक्षा महाशाखा प्रमुखको छ। “गत वर्ष शून्य नतिजा हासिल गरेका विद्यालयहरूको परीक्षा नतिजा निकै राम्रो आएको छ । दिवा छात्रावास तथा अतिरिक्त कक्षा समेत चलाएर वर्षभरी पठनपाठन गरिएकाले गत वर्ष कमजोर देखिएका विद्यालयमा व्यापक सुधार भएको छ,” खातीले भने ।
गत वर्ष शून्य नतिजा हासिल गरेको धनगढी-१२ जुगेडाको दुर्गा आधारभूत विद्यालयको यो वर्ष उत्तीर्ण प्रतिशत बढेर ५१ दशमलव ४२ प्रतिशत पुगेको छ। यस्तै, शून्य नतिजा आएको धनगढी-१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयका ४८ दशमलव ८७ र धनगढी-१३ श्रीलंकाको नवज्योति आधारभूत विद्यालयका ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मीलित भएका ५ हजार ९ सय ३६ विद्यार्थी मध्ये ३ हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन्। जुन कुल परीक्षामा सम्मीलित संख्याको ५२ प्रतिशत हो। गत वर्षदेखि धनगढीमा आधारभूत तहको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो।
यो वर्ष उपमहानगरपालिकाले नियमित विद्यालयको अनुगमन गरेको, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गरेकाले नतिजामा सुधार आएको शिक्षा महाशाखा भनाइ रहेको छ।
शिक्षा महाशाखा प्रमुख खातीका अनुसार, परीक्षा नतिजा सुधार हुनुमा सबै पक्षको योगदान रहनुका साथै अभिभावकले पढ्न प्रेरित गरेको, शिक्षकहरूले निकै मेहनत गरेको तथा उपमहानगरपालिकाले समेत अनुगमन र निरीक्षण गरेकाले नतिजामा सुधार आएको हो । सबै पक्षको कारण यो वर्ष नतिजामा सुधार आएको छ।
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार ल्याउन नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम समेत लागू गरेको छ। यो वर्ष सामुदायिक विद्यालयहरूले दिवा छात्रावास र अतिरिक्त कक्षा सञ्चालनग गरेर समेत सामुदायिक विद्यालयहरूले पठन पाठन गराएकाले आधारभूत तहको नतिजामा सुधार आएको उपमहानगरपालिकाले जनाएको छ।