कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडाबाट लुकाइछिपाई राखिएको अवैध काठ सब–डिभिजन वन कार्यालय चिसापानीको टोलीले बरामद गरेको छ।
बुधबार दिउँसो सब–डिभिजन वन कार्यालय चिसापानीका प्रमुख वन अधिकृत पूर्ण विष्टको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा अनुगमन गर्दा चिरान गरी राखिएको ४८ कडी काठ फेला पारेको हो। बरामद गरिएको काठको परिमाण ४५.७१ क्यु फिट रहेको वन कार्यालयले जनाएको छ।
अवैध रूपमा संकलन तथा लुकाइछिपाई राखिएको उक्त काठलाई नियन्त्रणमा लिएर आवश्यक मुचुल्का तयार गरी वन कार्यालयमा सुरक्षित राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सब–डिभिजन वन कार्यालय चिसापानीले जनाएको छ।
वन ऐन तथा नियमावली विपरीत हुने अवैध काठ कटानी, ढुवानी र कारोबारविरुद्ध कडाइका साथ निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।


