
नेकपा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनको सरगर्मी निकै बढेको छ । यति बेला पार्टीको प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागी प्रदेशभरि प्रतिनिधि छनौट भइरहेको छ । सोमबारबाट सुरु भएको प्रतिनिधि छनौटको समय सीमा आगामी बुधवार सम्मका लागी तय गरिएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा सोमबार ४ वटा पालिकामा मात्रै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । भने एउटा पालिकामा निर्वाचनद्वारा छनौट गरिएको छ । अन्य ८ पालिकामा भने सोमबार प्रतिनिधि छनौट हुन सकेन । बाँकी सबै पालिकामा सर्वसम्मत गर्ने कसरत जारी छ ।
सोमबार सर्वसम्मत प्रतिनिधि छनौट गर्नेमा बर्दगोरिया गाउँपालिका ४ जना, चुरे गाउँपालिका ७ जना, मोहन्याल गाउँपालिका ३ जना र गौरीगङ्गा नगरपालिका ८ जना छन् । यस्तै जोशीपुर गाउँपालिकामा भने निर्वाचनद्वारा १ जना प्रतिनिधि छानिएका छन् । कैलालीबाट प्रदेश अधिवेशनमा छनौट हुने १ सय ६ जना मध्ये सोमबार २३ जना छानिएका छन् ।
धनगढी उप–महानगरपालिका २५ जना, गोदावरी नगरपालिका १९ जना, लम्किचुहा नगरपालिका १५ जना र टिकापुर नगरपालिका ८ जना छनौट हुन बाँकी छन् । यस्तै घोडाघोडी नगरपालिका ८ जना, भजनी नगरपालिका ३ जना, जानकी गाउँपालिका ४ जना र कैलारी गाउँपालिकाबाट १ जना छनौट हुन बाँकी छन् । बाँकी पालिकाहरूले असोज १७ गते अर्थात् बुधवार सम्म सके सर्वसम्मत र नभए निर्वाचन प्रक्रियाबाट भए पनि प्रतिनिधि छनौट गरिसक्नु पर्नेछ ।
