अहिले कञ्चनपुर जिल्लामा कार्यरत प्रहरी निरीक्षक बिनु कुमारी शाहीका कारण एक प्रहरी जवानले राजीनामा दिनु परेको विषय चर्चामा छ । प्रहरी जवान नरेन्द्र नाथले प्रहरी निरीक्षक बिनु कुमारी शाहीका कारण जागिरबाट हात धुनु परेको भन्दै आरोप लगाई रहेका छन् । यता प्रहरी निरीक्षक शाही भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताइरहेकी छन् ।
के हो भित्री कथा ?
जिल्ला प्रहरी कार्यालय बाजुरा दरबन्दी रहेका प्रहरी जवान नरेन्द्र नाथ जिल्ला प्रहरी कञ्चनपुरमा काम गर्दै आएका थिए । गत असोज ६ गते भिमदत्त नगरपालिकाको उल्टाखाम चौकमा स्थानीयहरूको झगडाका क्रममा कैलालीको गोदावरीका गणेशराज भट्टको सुनको सिक्री हराएको थियो । सो सिक्री स्थानीयले फेला पारेपछि उनै प्रहरी जवान नाथलाई दिएका थिए ।
श्रोतका अनुसार उनै जवान नाथले भट्टलाई सुरक्षित बुझाउनु पर्नेमा नियतवश सुनको सिक्री टुक्रा टुक्रा पारी बुझाए पछि भट्टले प्रहरीमा गुनासो समेत गरेका थिए । यही घटनामा गत मङ्सिर १२ गते प्रहरी जवान नाथलाई प्रहरीको अभिलेखमा रहने गरी कारबाही गरेको र उनलाई काज फिर्ता गरी बाजुरा पठाएको श्रोतले बतायो ।
सुन लुकाउँदा एक लाखको झट्का
गत असोज ६ गते कञ्चनपुरको उल्टाखाम चौकमा स्थानीयहरूको झगडाका क्रममा कैलालीको गोदावरीका गणेशराज भट्टलाई प्रहरी जवान नाथले करिब एक लाख बुझाएको तथ्य फेला परेको छ । स्थानीयले भेटेको सिक्री बुझेका नाथले सकुशल फिर्ता नगरेपछि सुन धनी भट्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएका थिए ।
सुन धनी भट्टका अनुसार प्रहरी जवान नाथले टुक्रापारि दिएको आफ्नो सुन अपुग हुँदा प्रहरीमा निवेदन दिएपछि नाथले १ लाख रकम बुझाएका हुन । “मेरो सुनको सिक्री सकुशल फिर्ता गर्नु पर्थ्यो नि, तर उसले सुन काटेर टुक्रा टुक्रा बुझायो । पहिलो पटक ३ टुक्रा बुझायो । त्यसपछि मैले मेरो सुन अपुग भयो भनेर निवेदन दिए । अनि फेरी एक टुक्रा सुन र करिब एक लाख रुपैयाँ बुझायो ।” सुन धनी गणेश भट्टले निर्भीक पोस्टलाई भने ।
नाथको पहिलो राजीनामा
श्रोतका अनुसार प्रहरी जवान नरेन्द्र नाथले त्यस अघि नै रोमनिया जाने प्रक्रिया अघि बढाएका थिए । अझ भनौँ उनको भिसा आउने पक्का भए पछि पर्खाइमा थिए । यही बिचमा उनको काज फिर्ता पठाइएको थियो । बाजुरा पुगेको महिना दिन नपुग्दै उनले प्रहरी सङ्गठनबाट गत पुस ८ गते राजीनामा दिए । नाथको राजीनामा स्वीकृति प्रक्रियाका लागी सोही दिन उनकी श्रीमती निर कुमारी श्रेष्ठले प्रहरीलाई मन्जुरीनामा पत्र दिएकी थिइन ।
“हाम्रोमा कसैले राजीनामा दिन खोज्यो भने उनका नजिकका परिवारलाई बोलाउने, सोध्ने गर्छौ । त्यही क्रममा निजकी श्रीमती निरकुमारी श्रेष्ठलाई हामीले सोध्यौ । उहाँको रोमनिया भिसा लागेको छ । हाम्रो घरायसी छलफल भइसकेको छ । राजीनामा स्वीकृत गरिदिनु प¥यो भनेर पत्र नै पठाउनु भयो ।” जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दान सिंह भण्डारीले निर्भीक पोस्टलाई भने ।
श्रोतका अनुसार प्रहरी जवान नाथले राजीनामा स्वीकृतका लागी प्रदेश प्रहरी कार्यालय धनगढीमा राजीनामा पत्र बुझाएर कञ्चनपुर फर्किएका थिए । उनको विदेशको भिसा आउन करिब महिना दिन बढी समय थियो । महिना दिन खाली बस्नु पर्ने भएपछि एक महिनाको तलब समेत खान पाउने भन्दै आफ्नै राजीनामा रोक्न लगाएका थिए । राजीनामा रोक्न ठुलै नेताले दबाब दिएको स्वयम नाथ बताउँदै हिँडेका थिए ।
यता तत्कालीन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले भने राजीनामा स्वीकृति गरिदिन भन्दै कार्यालयमा आए पनि आफूले सम्झाएर पठाएको बताएका छन् । “मेरो राजीनामा स्वीकृत गरिदिनु प¥यो भनेर म कहाँ आएको थियो । मैले जिल्लाबाट पठाउनु पर्छ यसरी मौखिक भनेर हुँदैन भने । काम गरिरहेको मान्छे किन जागिर छोड्ने ? के हो तिम्रो समस्या ? भनेर सोधे । राजीनामा छोड्नु भन्दा बिदा लिएर बस भनेर २० दिनको बिदा दिएर पठाएको हु । राजीनामा पत्र त म कहाँ पुगेन ।” उनले भने । यता तत्कालीन प्रदेश प्रहरी प्रमुख बोहराले यसो बताए पनि उता ठुलै नेताको दबाबले प्रदेश प्रहरी कार्यालयले नाथको राजीनामा स्वीकृत नगरेको श्रोतको दाबी छ ।
के हो शाही र नाथको तारतम्य
प्रहरी जवान नाथको सुन प्रलोभन देखी पहिलो राजीनामा सम्मका गतिविधिमा प्रहरी निरीक्षक बिनु कुमारी शाही बेखवर थिइन । उनी त्यो बेला कामको सिलसिलामा काठमाण्डौमा थिइन भने नरेन्द्र नाथ बाजुरामा थिए । गत पुस २२ गते नाथ ४ जना सहित एकाएक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा देखिए । पुस २१ गते कञ्चनपुर प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको थियो । दोस्रो दिन नाथ सहितका ४ जना पक्राउ परेका जुवाडे भेट्न अनुमति नलिई हिरासत कक्षमा पुगे । यो दृश्य देखिरहेकी प्रहरी निरीक्षक बिनु कुमारी शाहीले अनुमति बिना किन गएको भन्दै कार्यकक्षमा बोलाउन लगाई सोधपुछ गरिन ।
“जुवाडे भेट्न चार जना आएका थिए । मलाई त्यसमा प्रहरी पनि छन् भन्ने थाहा थिएन । प्रहरी भए पनि अनुमति बिना अफ टाइममा त्यसरी हिरासत कक्षमा जान हुँदैन थियो । मैले मेरो कार्यकक्षमा उनीहरूलाई खानतलासी गर्न लगाउँदा एक जना सँग २ पोका सुर्ती भेटियो । दुई जना सँग केही पनि भेटिएन र एक जना सँग ८ पोका सुर्ती र प्लास्टिकमा राखेको गुट्खा भेटियो । त्यसपछि चार जनालाई हिरासतमा राखेका हौ । नाथ प्रहरी हुन भन्ने कुरा हिरासतमा थुने पछि मात्रै थाहा पाए ।” प्रहरी निरीक्षक शाहीले भनिन् ।
उनका अनुसार भोलिपल्ट चार जनालाई सम्झाई बुझाई छोडिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी जवान नाथको प्रहरी नियमावली विपरीत गरेको गतिविधिका विषयमा जानकारी सहित कारबाहीको अनुरोध गरी प्रदेश प्रहरी कार्यालय धनगढीलाई बोधार्थ गर्दै जिल्ला प्रहरी कार्यालय बाजुरालाई पुस २९ गते पत्राचार गरेको थियो । त्यसपछि बाजुरा हानिएका नाथले माघ २२ गते एकाएक प्रहरी निरीक्षक शाहीका कारण जागिरबाट राजीनामा दिनु परेको भन्दै पत्रकार सम्मेलन नै गरे । कारागारमा आफूमाथि दुर्व्यवहार गरेको र बाजुरा रहँदा पनि मानसिक तनाव दिएको नाथको आरोप छ । तर प्रहरी निरीक्षक शाहीले भने यसबारे आफू बेखबर रहेको र पुस २३ गते पछि कुनै माध्यमबाट पनि कुराकानी नभएको बताउँछिन् ।
दोस्रो पटक राजीनामा
पुस २३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतबाट छुटेका प्रहरी जवान नाथ २० दिनको छुट्टीमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार माघ १३ गते हाजिर हुनुपर्ने नाथ माघ १६ गते मात्र हाजिर भए । उनले माघ १८ गते दोस्रो पटक पुनः राजीनामा दिए । “१६ गते कार्यालयका हाजिर भयो । अब विदेश जाने मान्छे किन ड्युटी गर्नु भन्थ्यो । ड्युटीमा खासै मन लगाएन । १८ गते फेरी राजीनामा दियो । मेरो त रोमानिया भिसा लाग्यो अब जाने हो भन्दै थ्यो । यसरी भिसा लागे त म पनि जाने थिए भन्दै हासे ।” जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक दान सिंह भण्डारीले भने ।
उनका अनुसार राजीनामा स्वीकृति नहुन्जेल सम्पर्कमा नआएका नाथले माघ २० गते राजीनामा स्वीकृत भए/नभएको जानकारी लिएका थिए । उनले राजीनामा स्वीकृत भएको चाल पाए पछि मात्रै प्रहरी निरीक्षक शाहीका कारण राजीनामा दिएको अभिव्यक्ति सार्वजनिक गरेका हुन । श्रोतका अनुसार नाथले रोमानियाको भिसा प्रक्रियामा महिना दिन बढी लाग्ने भएकाले पहिलो राजीनामा ठुलै नेताको पावर लगाएर रोकाएको र अव भिसा आइसकेकाले फेरी राजीनामा दिन लागेको भन्दै हिँडेका थिए ।
किन परिन सबैको नजरमा बिना ?
दृश्यः १
प्रहरी निरीक्षक बिना शाहीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा करिब १ वर्ष काम गरेपछि २०८० मङ्सिर १४ गते मुद्धाफाटको जिम्मेवारी पाइन । त्यस अघि प्रहरी निरीक्षक पुष्करराज पन्तले मुद्दा फाट हेर्दै आएका थिए । उनी एक महिने तालिमको लागी भारत गएपछि प्रहरी निरीक्षक शाहीले मुद्धाफाटको जिम्मेवारी पाइन । प्रहरी ओहदामा शाही भन्दा सिनियर रहेका पन्तलाई तालिमबाट फर्के पछि भने मुद्दा फाँटको जिम्मेवारी दिइएन ।
श्रोतका अनुसार तत्कालीन अवस्थामा मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक पन्तले बाहिर राम्रो सम्बन्ध बनाएका थिए । सम्बन्धका कारण उनले राम्रै फाइदा पनि लिएका थिए । तर प्रहरी निरीक्षक शाही मुद्धाफाँटमा आएपछि उनको मेसो बिग्रियो । यता प्रहरी भएर पनि रातभर हिरासत बसेको पिडा नरेन्द्र नाथमा थियो । यही मौका छोपेर प्रहरी निरीक्षक पन्तले आफू पुनः मुद्दा फाँटमा जानका लागी प्रहरी जवान नाथलाई प्रयोग गरेको श्रोतको दाबी छ ।
दुश्यः २
प्रहरी निरीक्षक शाही कञ्चनपुर आएपछि निगरानीमा कडाइ गरिन । श्रोतका अनुसार उनले सिमानाका देखी बजारको कालोबजारी र अनैतिक क्रियाकलापमा गहिरो नजर दिँदै कडाइ गरिन । यस्ता क्रियाकलापमा संलग्नहरूको रोजीरोटी बन्द हुने अवस्था आउन थालेपछि उनलाई फकाउन, प्रलोभनमा पार्न देखी धम्काउन सम्म बिचौलियाहरू सक्रिय बने । उनले कसैको कुरा नसुने पछि बिचौलियाहरू नै योजनाबद्ध रूपमा शाही विरुद्ध लागेको पनि श्रोतको दाबी छ ।
उच्च प्रहरी अधिकारका अनुसार तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ प्रहरी सङ्गठन भित्र बदमास र अनुशासनहीन नै थिए । यस विषयमा हामीले तत्कालीन प्रहरी जवान नाथ सँग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।