धनगढी । सरकारले चिकित्सा शिक्षा सम्बन्धित विधेयक अगाडि बढाएको छ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चिकित्सा शिक्षासँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० दर्ता गरेको हो ।
गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ । दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ । राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ ।
सरकारले हाल सुदूरपश्चिमको कैलालीस्थित गेटमा निर्माणाधिन गेटा अस्पताललाई नै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संसदमा विधेयक दर्ता गर्दै हालसम्म छुट्टाछुट्टै पठनपाठन भइरहेको मेडिकल कलेजलाई एकीकरण गर्न र एउटै छातामुनि ल्याउन सकिन्छ भन्ने उद्धेश्यले विधेयक ल्याइएको जानकारी दिए ।
गेटामा पूर्वाधार निर्माणको काम शिक्षा मन्त्रालयले नै अगाडि बढाएको हो। अस्पताल सञ्चालनका लागि भने पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको छ। शिक्षा मन्त्रालयले आफूले निर्माण गरेको उक्त संरचना स्वास्थ्यलाई हस्तान्तरण गर्न आलटाल गर्दै आइरहेको थियो। स्वास्थ्य मन्त्रालयले सुरुमा अस्पताल र त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा शैक्षिक कार्यक्रम चलाउने गरी अगाडि बढाउने तयारी गरिरहेको थियो। सोही समयमा सरकारले विश्वविद्यालयको काम अगाडि बढाएको हो। संसदमा अहिले शिक्षा मन्त्रालयले नै विधेयक दर्ता गराएको छ ।
विधेयक अनुसार विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था गरिएको छ। उपकुलपति भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रस्ताव गरिएको छ ।
विश्वविद्यालयले आफ्नो आंगिक शिक्षण संस्थाबाहेक अन्य कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्थाको प्रस्ताव पनि विधेयकमा गरिएको छ ।
पुलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यु
पुलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यु भएको छ । आइतबार बिहान धनुषाको लालगढ र महोत्तरी बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा बैतडी घर भएका सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु भएको हो ।
तर परिवारले भने हाम फालेको हुन नसक्ने बताएका छन् । बोहरा धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दशैका लागि आजबाट नयाँ नोट साट्न सुरु गरिएको छ । यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन काउण्टर खुला गरेको छ ।
राष्ट्र बैंक धनगढीले वाणिज्य बैंक मार्फत समेत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो। नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले अहिले नयाँ नोट सटहीका लागि दुईवटा काउण्टर खुला गरेको छ। तेस्रो काउण्टर पनि राख्ने की भन्ने विषयमा छलफल चलिरहेको राष्ट्र बैंक धनगढीकी सूचना अधिकारी अस्मिता गोर्खालीले बताइन्।
गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको उनले जानकारी गराइन्। गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो।
असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा बैंकहरूले तोकेको नजिकको शाखामार्फत नोट सटही गर्नुहुन सबैलाई सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिन्छ।’
१८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक बन्डल हो। यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गर्ने तयारी रहेको स्रोतले बताएको छ। क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउने राष्ट्र बैंकले बताएको छ।
राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ। खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्ने गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ। यो रकममा सिक्काको हिसाब हुँदैन। दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ।