नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले पार्टीमा नेतृत्व चयनको चर्चा गर्ने बेला नभएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले सोमबार गोदावरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
अहिले पार्टी विधान अधिवेशनलाई केन्द्रमा राखेर अघि बढेको र नीति निर्माणमा लागेको बताउँदै नेतृत्व चयनको चर्चा महाधिवेशन मै गर्न उत्तम हुने उल्लेख गरे । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै महासचिव पोख्रेलले पूर्व राष्ट्रपति विद्या देवि भण्डारीलाई पार्टीले निषेध नगरेको बताए । “पार्टीले गरेको राजनीतिक निर्णय कुनै व्यक्तिलाई हेरेर गरेको होइन । राष्ट्रपति पदलाई सम्मान गरिएको र गरिमा कायम गरिएको हो । यो एउटा व्यक्तिका लागि नभई सबैका लागि हो ।” उनले भने ।
फरक प्रसङ्गमा बोल्दै उनले वर्तमान सरकारलाई जनताले धन्यवाद दिनु पर्ने बताए । हाल व्यवसायीहरूले विगतको जस्तो तनाव झेल्नु नपरेको, सरकारी भुक्तानीका कुनै समस्या नरहेको, शिक्षकहरूले नियमित तलब पाइरहेको, बैङ्कहरूमा अर्थ अभाव नरहेको र काम गर्नेहरूका लागि सहज वातावरण सृजना भएको उनले उल्लेख गरे । जनताले सरकारलाई धन्यवाद दिनु पर्ने भएपनि केही तत्वहरुले जनतामा निराशा पैदा गर्न खोजिएको समेत बताए ।




