महिला शिक्षकहरूको मानसिक सशक्तीकरण र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले घोडाघोडी नगरपालिकामा पाँच दिने मनोपरामर्श तालिम सुरु भएको छ। तालिम असार ५ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो।
नगर भित्रका विभिन्न सामुदायिक विद्यालयहरूमा कार्यरत ३० जना महिला शिक्षकहरूको सहभागिता रहेको तालिममा व्यावसायिक तनाव व्यवस्थापन, विद्यार्थीहरूसँगको प्रभावकारी संवाद, आत्ममूल्याङ्कन, आत्मबल वृद्धि, तथा शिक्षण पेशामा उत्पन्न मनोवैज्ञानिक चुनौतीहरूको समाधान सम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ। 
तालिमको उद्घाटन घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख राउतले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न महिला शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले भने, “शिक्षकको मानसिक स्वास्थ्य राम्रो भए मात्र शिक्षण प्रभावकारी हुन्छ। यस्तो तालिमले व्यक्तिगत तथा व्यावसायिक विकासमा टेवा पुर्याउनेछ।”
कार्यक्रम घोडाघोडी नगरपालिकाको आयोजना तथा सीएमसी नेपाल को प्राविधिक सहयोगमा गरिएको हो। प्रशिक्षकको रूपमा मनोपरामर्शकर्ता अनन्त चौधरी रहेका छन् ।
तालिम असार ९ गतेसम्म सञ्चालन हुनेछ।



