सुखड : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको जिल्ला अधिवेशन वैशाख २८ र २९ गते घोडाघोडीमा हुने भएको छ ।

बिहीबार बसेको बैठकले जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका स्थित सुखडमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला संयोजक कपिल सापकोटाले जानकारी दिए ।
लामो समयको अन्तरालपछि हुन लागेको अधिवेशन जिल्लाको मध्यवर्ती क्षेत्रमा गर्दा पर्यटकीय क्षेत्रकाे प्रचार प्रसार हुनुका साथै केन्द्रीय स्तरका नेता आउँदा यहाँ रहेका क्याम्पसका समस्या पनि पोख्न सकिने संयोजक सापकोटाकाे भनाइ रहेको छ ।
पार्टीका देखि हरेक कार्यक्रमहरु धनगढी केन्द्रीत मात्रै हुने गरेकाले यहाँ गर्दा यहाँको व्यापार व्यवसायमा पनि टेवा पुग्ने र मध्यवर्ती क्षेत्र भएका कारण सबैलाई सहज हुने सापकोटाले बताए ।
उक्त अधिवेशनमा केन्द्रीय अध्यक्ष समिक बडालसहित केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी केन्द्रीय सचिव तथा सुदुरपश्चिम इन्चार्ज दिपक धामी, प्रदेश अध्यक्ष मनोज राई, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रमोद खड्का, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह-इन्चार्ज किशोर शाह, केन्द्रीय सदस्य तथा कैलाली सह-इन्चार्ज कल्पना तिमिल्सिना लगायत व्यक्तित्त्वहरुको उपस्थिति रहने बताइएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने र जसका लागि करिब ५ सय प्रतिनिधि उपस्थित हुने पनि बताइएको छ।



