
इङ्ग्ल्याण्डका राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।


बेलायती अखबार ‘डेली मेल’ सँगको कुराकानीमा ३७ वर्षीय अलराउन्डर अलीले आफू अष्ट्रेलियासँगको आउँदो शृङ्खलाका लागि टोलीमा नपरेको र अब नयाँ पुस्ताको समय भएको बताएका क्रिकेटसम्बन्धी जानकारी दिने वेब साइट क्रिक इन्फोले जनाएको छ ।
सन् २०१४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अलिले इङ्ग्ल्याण्डका लागि ६८ टेस्ट, १ सय ३८ एकदिवसीय र ९२ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय सबै फर्म्याटमा ६ हजार ६ सय ७८ रन, ६ शतक, २८ अर्धशतक र ३ सय ६६ विकेट लिएका छन् ।

मोइन अलीले पछिल्लो पटक यही वर्षको जुनमा टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्डबाट खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि फ्रेन्चाइज क्रिकेट खेल्ने र पछि गएर प्रशिक्षकको रूपमा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

इङ्ग्ल्याण्डले सन् २०१९ मा एकदिवसीय विश्वकप र २०२२ मा टी-२० विश्वकप जित्दा मोइन अली टोलीको सदस्य रहेका थिए ।

