काठमाण्डौ : नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस र नेकपा एमाबीच नयाँ सरकार बनाउने सहमति भएपछि एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले आज राजीनामा दिएका हुन् । उनीहरुले वालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

एमालेका तर्फबाट प्रचण्ड नेतृत्व सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी, खानेपानी मन्त्रीमा राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती सहभागी भएका थिए ।
नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठन प्रक्रियाका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको थिए । तर, माओवादीको पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मत फेस गर्ने निर्णय गरेको छ ।
एमालेका मन्त्रीहरुले दिएको राजीनामा प्रधानमन्त्रीले भोलि स्वीकृत गर्ने बताएका छन् । योसँगै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।



