सुखड: कैलालीको घोडाघोडी नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु भएको छ । नेपाल सरकारले क्षयरोग मुक्त पालिका बनाउन देशभरका १०० पालिकालाई छनोट गरेको थियो जसमा घोडाघोडी पनि परेको थियो । नगरपालिकाले अबको पाँच वर्षमा घोडाघोडीलाई क्षयरोग मुक्त बनाउने गरी काम सुरु गरेको छ ।
क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति रु १० लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिने प्रावधान रहेको छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगर प्रमुखको संयोजकत्वमा नगर उप-प्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारी लगायतको टोली र वडा स्तरमा समेत समिति गठन गरिएको छ ।
यो अभियानमा क्षयरोगीको खोजपडताल, सचेतनामूलक कार्यक्रम, नियमित औषधि सेवन, अन्यत्रबाट आएकाहरूको अनिवार्य खकार जाँच लगायतका गतिविधि भइरहेको घोडाघोडी नगरपालिकाका स्वास्थ्यकर्मी तथा क्षयरोग फोकल पर्सन वेद चौधरीले जानकारी दिए । उनका अनुसार क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेका व्यक्तिको परीक्षण गर्ने, वडा स्तरमा सूक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन गरिने छन् ।
सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको स्वास्थ्यकर्मी तथा क्षयरोग फोकल पर्सन चौधरीको भनाई छ ।
कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्ने गर्दछ । हरेक वर्ष सयौँको सङ्ख्यामा क्षयरोगको समस्या देखिन थालेकाले निवारणका लागि अभियान थालिएको हो । सरकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियान थालेको छ ।
गरिबी, बसाइँ सराइ लगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको हो । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएका छन् ।
सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको चिकित्सकहरु बताउँछन् ।