कैलाली, घोडाघोडी नगरपालिका–१२ मेगनम सामुदायिक वन उपभोक्ता समितिको संरक्षण क्षेत्रभित्र पर्ने ताल नेपाली कांग्रेसका स्थानीय नेताहरूले समितिलाई जानकारी नै नदिई आफ्नै पार्टीका नेतालाई ठेक्का लगाएको खुलासा भएको छ । नेपाली कांग्रेस घोडाघोडी १२ का वडा सभापति नेपाली कांग्रेसकै कार्यकर्ता रहेका भलमन्सा लगायत केही अरु कांग्रेसका कार्यकर्ता हरूले ताल आफ्नै नेतालाई सुम्पिएको पाइएको हो। यसरी ताल समितिलाई समेत जानकारी नदिई एक व्यक्तिलाई प्रक्रियाबिना सुम्पिएपछि स्थानीय उपभोक्ता आक्रोशित बनेका छन्।
घोडाघोडी–१२ का नेपाली कांग्रेस वडा सभापति हरिशंकर चौधरी (कुस्मी) ले आफ्नै पार्टीका जिल्ला कमिटी सदस्य धीरेन्द्र कठायत लाई सो ताल प्रयोग गर्नका लागि बन्द कोठामा गोप्य रूपमा ठेक्का सुम्पिएका हुन्। यो निर्णय सामुदायिक वन उपभोक्ता समिति तथा सरोकारवाला उपभोक्तासँग छलफल नगरी एकलौटी ढंगले गरिएको आरोप उपभोक्ताहरूले लगाएका छन्।
ताल उपयोगको विषयमा न त कुनै निर्णय समिति बैठकबाट गरिएको छ, न त सूचना सार्वजनिक गरिएको। कांग्रेस पार्टीका केही नेता कार्यकर्ताहरूको मिलेमतोमा सो ताल ठेक्का लगाइएको खबर बाहिरिएपछि मेगनम सामुदायिक वन उपभोक्ता समिति तथा आम उपभोक्ता आक्रोशित बनेका हुन्।
उपभोक्ताहरूले यस्तो निर्णय अस्वीकार गर्ने बताएका छन्। उनीहरूले “सामुदायिक सम्पत्तिको प्रयोग एकाधिकार शैलीमा होइन, पारदर्शी र सामूहिक निर्णयबाट हुनुपर्छ। कुनैपनि हालतमा यो एकलौटी ठेक्का मान्य हुने छैन। यदि कसैले तालमा माछा हाल्ने प्रयास गरे भने, निकाल्न नदिने र मारेर खाइदिने चेतावनीसमेत दिएका छन्।”
प्रकरण सार्वजनिक भएपछि मेगनम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामकुमार चौधरीले निर्भिक पोस्टसँग प्रतिक्रिया दिँदै अब ताल कुनै पनि व्यक्तिलाई ठेक्कामा नदिइने स्पष्ट पारेका छन्। उनले भने, “यस विषयमा समिति छलफलमा बसेको छ। अब ताललाई समिति आफैंले प्रयोग गर्ने निर्णय भएको छ। माछा हाल्ने काम पनि समितिको नेतृत्वमै हुनेछ।”
अध्यक्ष चौधरीले भने भने उपभोक्ताहरूको साझा सम्पत्ति एकलौटी रूपमा प्रयोग गर्न दिइने छैन र यसअघि गरिएको गोप्य सम्झौताबारे समितिले समीक्षा गरेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको छ।





