समुदायमा बढ्दै गएको लागु औषध दुर्व्यसनी हटाउन ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय उपशाखा बौनियाले प्रभात फेरी गरेको छ । शनिवार महाशिवरात्रि परमात्माको धर्तीमा अवतरण दिवसको अवसरमा विभिन्न कार्यक्रम सहित बौनिया बजारमा प्रभात फेरी निकालिएको थियो ।

महाशिवरात्रिको अवसरमा विभिन्न नसा सेवन गर्ने र समाजमा समस्या उत्पन्न हुने अवस्थाको अन्त्य गर्न विभिन्न कार्यक्रम सहित प्रभात फेरी निकालिएको उपशाखा बौनियाकी प्रमुख सुनिता दिदीले जानकारी दिइन । “परमात्मा शिवले भाङ धतुरो खानु भयो र त्यसैले प्रसादको रूपमा हामीले पनि सेवन गर्नु पर्ने भन्ने मान्यता छ । तर त्यसो होइन हामी भित्रको विकार चिजलाई परमात्माको यादमा त्याग्ने छोड्ने र परमात्माबाट प्राप्त हुने शक्तिलाई आत्मसात् गर्ने दिनको रूपमा हामीले मनाउनु पर्छ ।” उनले भनिन ।
परमात्मा धर्तीमा अवतरण गरेको दिन (महाशिवरात्रि) को अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । शनिवार आयोजना गरिएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर, वडा नम्बर-२ का वडा अध्यक्ष गोविन्द बि.क. लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको शिक्षा अहिलेको नेपाली समाजका लागि आवश्यक रहेको बताए ।
“जीवन बदल्ने, समाज बदल्ने र नागरिकमा आशा पलाउने शिक्षा यसले दिन्छ जस्तो लाग्छ । यसलाई विद्यालय स्तरमा पनि लैजानु पर्ने देखिन्छ । गत वर्ष यो संस्थाको भवन निर्माणका लागि बजेट व्यवस्थापन गरेका थियौ । अब यो भवनमा हल निर्माण गर्न आवश्यक छ । त्यसका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गर्छ । उनले भने ।



