
काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि नसकिएपछि दुई दिनसम्महिरासतमै बस्ने भएका छन् ।

जिल्ला अदालत काठमाण्डौमा हिजो बयान सकिएपछि सुरु भएको थुनछेक बहस आज पनि नसकिएको अदालतले जनाएको छ । थुनछेक बहस नसकिएकाले लामिछानेलाई आज पनि प्रहरीले हिरासतमा लगेको छ । भोलि सार्वजनिक बिदा परेकाले प्रहरीले अब पर्सि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराउने भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए । सरकारी वकिलले लामिछानेलाई थुनामुक्त गर्दा प्रमाण नष्ट हुने भएकाले थुनामै राख्ने आदेशको माग गरेका छन् भने लामिछानेका तर्फबाट बहस गर्ने वकिलले जिल्ला अदालत पोखराले जस्तै लामिछानेलाई थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिन माग गरेका थिए । थुनछेक बहसको आदेश नआउञ्जेल लामिछाने हिरासतमै रहनेछन् ।
गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ लगेको प्रहरीले गरेको अनुसन्धानको निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ बिगो मागदाबी समेत गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा भने जिल्ला अदालत कास्कीले गएको बिहीवार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
