
कैलालीको घोडाघोडी नगरपालिका ८ का नीरज बहादुर शाही मृत्यु प्रकरणमा संलग्न मेडिकल ल्याब असिस्टेन्ट महावीर चौधरीलाई प्रहरीले अझै समात्न सकेको छैन । घटना घटेको १२ घण्टा बढी हुँदा समेत चौधरीलाई प्रहरीले समात्न नसकेको हो ।


सामान्य टाउको दुखाइले शाही सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि गएका थिए ।
आफै मोटरसाइकल चलाएर मेडिकल पुगेका शाहीको निको भएर घर फर्किने सपना भने पूरा हुन सकेन । शाहीलाई मेडिकलका ल्याब असिस्टेन्ट महावीर चौधरीले एउटा सिरिन्ज दिएका थिए । चौधरीले सिरिन्ज दिएको २ मिनेट मै शाहीको मृत्यु भएको बताइएको छ ।

मेडिकलमा सँगै उपचार गराई रहेका प्रत्यक्षदर्शी खडक बहादुर साउँदले सिरिन्ज दिएको २ मिनेटमै शाहीको मृत्यु भएको बताए । साउँदका अनुसार, उनी पनि झाडापखालाको उपचार गराई रहेका थिए । सिरिन्ज लगाए लगत्तै नीरजको मुखबाट फिँज निस्कन थाल्यो । अवस्था गम्भीर देखिएपछि ल्याब असिस्टेन्ट चौधरीले कृत्रिम श्वास दिने प्रयास गरे, तर केही समयमै नीरजको मृत्यु भयो ।

नीरजको मृत्यु पछि चौधरी भने प्रहार भएका थिए । प्रहार रहेका चौधरीको खोजी कार्य भइरहेको भएपनि फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश अवस्थीले बताए । प्रहरी निरन्तर खोजी कार्यमा लागिरहेको छ । ‘उनको घरमा समेत पुगेका छौ” तर घरमा गएको भेटिएन । लोकेसन मार्फत समेत खोजिरहेका छौ” डिएसपी अवस्थीले भने ।
मेडिकल सञ्चालक इन्द्र चौधरीलाई भने नियन्त्रणमा लिइएको डिएसपी अवस्थीले बताए । उता घटनाको १२ घण्टा बढी हुँदा समेत प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका परिवारले लास उठाएका छैनन् ।

घटनाबारे थप अनुसन्धान गरिने डिएसपी अवस्थीले बताए ।
