धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको विधान विपरित जाने जो कोहीलाई पनि कारबाही हुने बताएकी छन्।
आइतबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेकी पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका पाँच जना प्रदेश सभा सदस्यहरुलाई पार्टीको विधान अनुसार कारबाही हुने बताएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)सँगै धनगढी आएकी अध्यक्ष श्रेष्ठले भनिन्, ‘राजनीतिक दलको विधान हुन्छ, त्यो पल्टायो भने, विधानको धारा–उपधाराहरु प्रष्ट छन्। कोही पनि साथीहरु पार्टी छोडेर अर्काे पार्टीसँग मिल्छन भने, पार्टी छोडिएको हुन्छ। पार्टी छोडेर अर्काे पार्टीसँग हिड्नु हुन्छ भने उहाँहरुलाई स्वागत छ। उहाँहरु प्रक्रियागत रुपमा हिडिरहनु भएको छ। कारबाहीको भागेदार भएर हिडिरहनु भएको छ।’
नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष श्रेष्ठ आज धनगढी आएकी हुन।
उनले पार्टीको आन्तरिक बैठक बस्ने बताएकी छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा सुदूरपश्चिमका सांसदहरु विभाजन भएका छन्। नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरुमा पाँच जना रेशमको पक्ष र २ जना रञ्जिताको पक्षमा छन्। रञ्जिताको पक्षमा रहेका कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ खाएका छन्।
टीका थापालाई विना विभागिय मन्त्री दिने विषयमा भने विवाद भएको छ। अध्यक्ष श्रेष्ठले मन्त्रालयसहितको मन्त्री खाने भन्ने विषयमा मात्र नागरिक उन्मुक्तिले टीका थापालाई प्रदेश सरकारमा नपठाएको बताएकी छन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठको स्वागतमा विमानस्थलमा समेत २ जना प्रदेश सभा सदस्य मात्र गएका थिए। अन्य पाँच जना प्रदेश सभा सदस्यहरु पूर्व मन्त्री तथा अध्यक्ष श्रेष्ठको स्वागतका लागि विमानस्थलमा गएनन्।
इन्दीरा गिरी, खुशीराम डगौरा थारु, घनश्याम चौधरी, रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरी अध्यक्ष श्रेष्ठको स्वागतका लागि विमानस्थलमा देखिएनन्। रेशम पक्षका उनीहरुले नेपाली काँग्रेस, एकीकृत समाजवादी, राप्रपासँग मिलेर छुट्टै गठबन्धनको प्रयास गरेका थिए। केन्द्रमा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीसहितका दलहरुसँग नागरिक उन्मुक्ति पार्टीले गठबन्धन गरेको छ।
पार्टी २ भागमा विभाजन भएकाले मुख्यमन्त्रीको पदसमेत गुमेको अध्यक्ष श्रेष्ठले बताएकी छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि केन्द्रीय स्तरमा समाजवादीलाई मुख्यमन्त्रीको पद दिने राजनीतिक समजदारी भएको थियो। सुदूरपश्चिममा एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीको सपथ खाएका छन्। उनले विश्वासको मत लिन बाँकी छ।